२०८२ चैत्र ६ गते शुक्रबार

जनमत पार्टी परित्याग गर्दै बृजेश चौधरीसहित सयौँ नेता–कार्यकर्ता रास्वपामा प्रवेश

 

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत आयोजित पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका जगरनाथपुर गाउँपालिकाका नेता बृजेश चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। चौधरीसँगै सयौँको सङ्ख्यामा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले जनमत पार्टी परित्याग गर्दै रास्वपाको सदस्यता लिएका हुन्।

कार्यक्रममा रास्वपाका क्षेत्रीय सभापति जितेन्द्र मिश्र र रास्वपाबाट पर्सा–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यले नवप्रवेशीहरूलाई खादा र फूलमाला लगाएर औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए। प्रवेश कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी नेता बृजेश चौधरीले रास्वपामार्फत मात्र देशमा वास्तविक परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे। उनले जनमत पार्टीले मधेसी समुदायलाई निरन्तर रूपमा ठगेको आरोप लगाउँदै मधेसी जनताको मतलाई सत्ता प्राप्त गर्ने साधनका रूपमा मात्र प्रयोग गरिएको बताए।

हामीले विश्वास र समर्थन दिएको दलले जनताको अपेक्षा पूरा गर्न सकेन, चौधरीले भने, अब परिवर्तनको मार्ग रास्वपाबाटै सम्भव छ भन्ने निष्कर्षमा पुगेका छौँ।त्यसैगरी, रास्वपाका पर्सा–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यले पार्टी प्रवेशलाई जनआकाङ्क्षाको स्पष्ट प्रतिबिम्बका रूपमा व्याख्या गरे। उनले जनताको भरोसा र समर्थन बढ्दै गएको उल्लेख गर्दै रास्वपाले सुशासन, पारदर्शिता र जवाफदेहिताको राजनीति अघि बढाउने प्रतिबद्धता दोहोर्‍याए।

कार्यक्रमको अन्त्यमा नवप्रवेशी नेता तथा कार्यकर्ताहरूले आगामी दिनमा पार्टी संगठन विस्तार र चुनावी अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM