२०८२ चैत्र ६ गते शुक्रबार

बारा यातायात कार्यालयमा लाइसेन्स वितरणमा गम्भीर अनियमितता, फेल उम्मेदवारलाई पैसाकै भरमा पास गराइने आरोप

 

बारा जिल्लाको यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा व्यापक अनियमितता र भ्रष्टाचार भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। सेवाग्राहीहरूले भनेका छन् कि लिखित तथा ट्रायल परीक्षा फेल भएका उम्मेदवारलाई समेत आर्थिक लेनदेनको आधारमा लाइसेन्स वितरण भइरहेको छ, जसले समग्र प्रणालीमाथि प्रश्नचिह्न खडा गरेको छ।

स्थानीय स्रोतका अनुसार, नयाँ कार्यालय प्रमुख चिन्तन आचार्यको जिम्मेवारी सम्हालेपछि कार्यालयभित्रको अनियमित गतिविधि झनै बढेको गुनासो सुन्नमा आएको छ। कर्मचारी र सक्रिय दलालहरूको मिलेमतोमा तोकिएकोभन्दा बढी शुल्क असुली गरी परीक्षा फेल भएका उम्मेदवारलाई पास गराइने गरिएको आरोप छ।

सेवाग्राहीहरूले भनेका छन् कि आर्थिक पहुँच भएका उम्मेदवारको ट्रायल तथा लिखित परीक्षाको नतिजा हेरफेर गरी पास गरिन्छ, जबकि नियम र सीपका आधारमा परीक्षा दिएका योग्य उम्मेदवारहरू अनावश्यक रूपमा फेल गराइन्छ। यसले गर्दा इमानदार नागरिकहरू निराश हुँदै जनविश्वास खस्कँदै गएको उनीहरूको गुनासो छ।

एक पीडितले बताए, “परीक्षा राम्रै दिएको हुँ, तर पास गराइदिने नाममा रकम मागियो। दिन नसकेपछि फेल गराइयो।” यस्ता गुनासाहरू दिनानुदिन बढ्दा कार्यालयभित्र संगठित भ्रष्टाचार र लुटतन्त्र सञ्चालन भइरहेको आशंका बलियो भइरहेको छ।

सार्वजनिक यातायातजस्तो संवेदनशील क्षेत्रमा अयोग्य व्यक्तिलाई लाइसेन्स वितरण गर्नु आम नागरिकको ज्यानसँग प्रत्यक्ष खेलवाड भएको भन्दै सरोकारवालाहरूले तत्काल निष्पक्ष छानबिनको माग गरेका छन्।

विशेष गरी लिखित परीक्षाको परिणाममा पास भएका उम्मेदवारको नाम मात्र प्रकाशित गरिने हुँदा परीक्षामा कति जना सहभागी भए र कति फेल भए भन्ने तथ्य बाहिर आउँदैन। तर यही प्रक्रियामा हुने अनियमितता र चलखेलले नै परीक्षाको निष्पक्षता र विश्वसनीयतामा ठूलो प्रश्न उठाएको छ।

सरकार र सम्बन्धित निकायले यस विषयमा छिटो निष्पक्ष छानबिन गरी सचेत कदम चाल्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्, नभए ठूलो दुर्घटना र सामाजिक अविश्वासको जोखिम बढ्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM