बिरगंज महानगरपालिकाभित्र सुर्तीजन्य तथा मदिराजन्य पदार्थको सार्वजनिक स्थानमा खुलेआम विज्ञापन भइरहेको पाइएको छ। होर्डिङ बोर्ड तथा डिजिटल डिस्प्ले मार्फत रक्सी र बियरका विज्ञापन निरन्तर प्रसारण भइरहे पनि यसप्रति सम्बन्धित नियामक निकायले प्रभावकारी कदम नचालेको भन्दै सर्वसाधारणले गुनासो व्यक्त गरेका छन्।
बिरगंजको आदर्शनगरबाट गीता मन्दिरतर्फ जाने मुख्य सडक खण्डमा रहेको घडिअर्वा पोखरीको पर्खालमा जडान गरिएको डिजिटल डिस्प्लेमा होटल भिस्वाको रक्सी तथा बियरको विज्ञापन निरन्तर प्रसारण भइरहेको छ। सार्वजनिक स्थानमा यसरी मदिराजन्य पदार्थको प्रचार–प्रसार गर्नु प्रचलित कानुन विपरीत भए पनि महानगरपालिकाले कारबाही गर्नुको साटो विज्ञापनबाट कर असुलीमा मात्रै ध्यान केन्द्रित गरेको उपभोक्ताहरूको आरोप छ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले विज्ञापन नियमन ऐनअनुसार मदिराजन्य तथा सुर्तीजन्य पदार्थको सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, डिजिटल डिस्प्ले, प्रकाशन तथा प्रसारण गर्न पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारे।
उनका अनुसार संस्थाले करिब ८–९ दिनअघि नै होटल भिस्वाका म्यानेजर प्रशान्त जीलाई उक्त रक्सी तथा बियरको विज्ञापन हटाउन आग्रह गर्दै फोटो र भिडियो प्रमाणसहित जानकारी गराइसकेको थियो। तर पटक–पटकको आग्रहपछि पनि विज्ञापन नहटाइएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई समेत लिखित तथा प्रमाणसहित जानकारी गराइएको अधिकारीले बताए।
प्रमुख जिल्ला अधिकारी दाहालले तत्कालै पर्साका प्रहरी प्रमुखलाई उक्त विज्ञापन हटाउन निर्देशन दिएको भए पनि समाचार तयार पार्दासम्म सो विज्ञापन हटाइएको छैन। यसले प्रशासनिक निर्देशन कार्यान्वयन नहुनुका साथै यस विषयको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको स्थानीयवासी तथा नागरिक समाजको भनाइ छ।
कानुन विपरीत सार्वजनिक स्थानमै भइरहेको यस्ता खुला मदिराजन्य विज्ञापनप्रति सम्बन्धित निकायले कहिले प्रभावकारी कदम चाल्ने हुन् भन्ने विषयले अहिले बिरगंजका सर्वसाधारणबीच चासो र बहस बढ्दै गएको छ।









