२०८२ फाल्गुन २३ गते शनिबार

छपकैया भेलामा रिमा यादवको अपिल: महिला–युवा सहभागिताले मात्रै पर्साको दिगो विकास सम्भव

 

वीरगंज नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार रिमा यादवले महिला, युवा र आम जनसमुदायको सक्रिय सहभागिताबाट मात्रै पर्साको दिगो विकास सम्भव हुने बताएकी छन्।
वीरगंज–१ छपकैयामा मंगलबार आयोजित वडा स्तरीय भेलालाई सम्बोधन गर्दै यादवले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषिजन्य विकास तथा सामाजिक सुरक्षालाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारिन्।

उनले युवाहरूलाई राजनीति र समाज निर्माणमा सक्रिय बनाउनु अपरिहार्य रहेको बताउँदै महिलाहरूले आफ्नो आवाज र सहभागितामार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने धारणा व्यक्त गरिन्।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूलाई मतदान गर्न मतदातासमक्ष अपिल गर्दै यादवले पर्साको समग्र विकासका लागि एमालेको नीति र योजनामा विश्वास गर्न आग्रह गरिन्।

भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, युवा नेता मुकेश द्विवेदी र उम्मेदवार रिमा यादवले आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रमकै अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी सयौं नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई प्रमुख अतिथि विजय सरावगी, उपाध्यक्ष बिचारी यादव तथा उम्मेदवार रिमा यादवले फूलमाला लगाई पार्टीमा स्वागत गरेका थिए।

नेताहरूले नवप्रवेशीहरूलाई पार्टीको मूल्य, मान्यता र सिद्धान्तअनुसार सक्रिय रूपमा काम गर्न प्रेरित गरे।
कार्यक्रममा सहभागीहरूले उम्मेदवार रिमा यादवको स्पष्ट विकास योजना र महिला–युवा सशक्तिकरणप्रतिको दृष्टिकोणले आफ्नो विश्वास अझ मजबुत बनेको प्रतिक्रिया दिएका थिए। कार्यक्रमको सहजीकरण वीरगंज महानगरपालिकाका कार्यवाहक अध्यक्ष लियाकत अलीले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM