२०८२ फाल्गुन २६ गते मंगलवार

महिला अब घरको चुलो–चौकामा मात्र सीमित छैनन्, हरेक क्षेत्रमा सक्रिय सहभागिता आवश्यक छः उम्मेदवार यादव

 

नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२७ कुहडीमा बुधबार वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। प्रमोद साह तेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा यादवले क्षेत्रको समग्र विकासका लागि विभिन्न योजनाहरू प्रस्तुत गरिन्।

उम्मेदवार यादवले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै महिलालाई घरेलु तथा व्यवसायिक तालिम प्रदान गर्ने योजना रहेको बताइन्। सिलाइ, कढाइ, मस्यौरा बनाउने तथा हाते कढाइजस्ता सीपमूलक तालिममार्फत महिलालाई व्यवसायिक दक्षता प्रदान गरी आयआर्जनमा जोड दिने उनको भनाइ थियो। साथै, प्रत्येक स्वास्थ्य चौकीमा कम्तीमा एक एमबिबिएस डाक्टर उपलब्ध गराउने र सुलभ रूपमा औषधि व्यवस्था गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको उनले स्पष्ट पारिन्।

महिला सशक्तिकरणमा जोड दिँदै उनले भनिन्, “महिला अब घरको चुलो–चौकामा मात्र सीमित छैनन्, हरेक क्षेत्रमा उनीहरूको सक्रिय सहभागिता आवश्यक छ। अवसर पाएमा महिला पनि काम गरेर देखाउने क्षमता राख्छिन्। अब समय आएको छ, महिलालाई जिताएर देखाउने।”
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त भेलामा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। विशेष अतिथि समानुपातिक उम्मेदवार बिचारी यादवले आगामी निर्वाचनमा एमाले पर्सा–२ का उम्मेदवार रिमा यादवलाई विजयी गराउन सबै नेता–कार्यकर्तालाई एकजुट भएर सक्रिय हुन आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य विजय सरावगीले मतदातासामु क्षेत्रको इतिहास रच्ने समय आएको बताए। उनले एमालेले अघि सारेको शिक्षित युवा उम्मेदवारको पक्षमा फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न अनुरोध गरे।
कार्यक्रममा युवा नेता मुकेश द्विवेदी, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादव, वडा अध्यक्ष सन्जु छतकुली, विजय कुर्मी लगायतले आ–आफ्ना धारणा राखेका थिए।

यसैबीच, कार्यक्रममा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालका सयौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए। रास्वपाका वडा नम्बर २७ का वरिष्ठ नेता तथा पूर्व वडा अध्यक्ष बुनी प्रसाद यादवसहित दर्जनभन्दा बढी नेताहरू एमालेमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य सरावगी, उपाध्यक्ष बिचारी यादव, उम्मेदवार रिमा यादव, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादव लगायतले फुलमाला र दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का अध्यक्ष मनोज कुशवाहाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। साथै वीरगञ्ज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली, पूर्व वडा अध्यक्ष प्रदीप यादव, अजय साह तेली, रमिला खातुन, प्रदुमन यादव, पिन्टु उपाध्याय, विक्की सिंह लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सन्तोष पासवानले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM