BPS प्लस टु कलेजका विद्यार्थीहरूका लागि सप्ताहव्यापी खेलकुद कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ। कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले कलेज परिसरमा उत्साह र उमंग थपेको छ।
कलेजका सञ्चालक दिपक पटेलका अनुसार विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई ध्यानमा राख्दै शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकुद कार्यक्रम सञ्चालन गरिएको हो। उनले भने, “पाठ्यक्रमको ज्ञान मात्र पर्याप्त हुँदैन, विद्यार्थी मानसिक तथा शारीरिक रूपमा स्वस्थ हुन पनि उत्तिकै आवश्यक छ।
त्यसैले खेलकुद गतिविधिमा अभिभावकहरूले पनि आफ्ना बालबालिकालाई प्रोत्साहन गर्न जरुरी छ।”
अर्का सञ्चालक सन्दिप कुश्वाहाका अनुसार सप्ताहव्यापी रूपमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत पहिलो दिन चार वटा खेल सम्पन्न भएका छन्। प्रतियोगितामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको र प्रतिस्पर्धा उत्साहपूर्ण भएको उनले बताए।
कार्यक्रमअन्तर्गत विभिन्न विधाका खेलहरू आयोजना गरिनेछ भने प्रत्येक खेलमा विजेता तथा उपविजेता हुने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिने कलेज प्रशासनले जनाएको छ।
सञ्चालक पटेलले खेलकुदको महत्वबारे प्रकाश पार्दै विद्यालय स्तरबाटै खेल प्रतिभाको पहिचान र विकास गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम रोशन गर्ने खेलाडीहरू विद्यालय तहबाटै तयार हुन्छन्। त्यसैले प्रारम्भिक चरणदेखि नै खेलकुदमा उचित प्रशिक्षण र अवसर उपलब्ध गराउनु जरुरी छ।”
सप्ताहभर सञ्चालन हुने खेलकुद कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सद्भाव, अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।









