पर्सागढी–५ बहुअरावामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल छोडेर सयौँ व्यक्तिहरू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी–लेनिनवादी) (एमाले) मा प्रवेश गरेका छन्।
कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार रिमा कुमारी यादव ले सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन्। उनले पर्सा जिल्लाको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै जनताको विश्वास जितेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, गोकर्ण पाठक (पर्सागढी नगरपालिका अध्यक्ष), सिंघासन साह (बहुदरमाई नगरपालिका अध्यक्ष) तथा पूर्व वडा अध्यक्ष असलम आलम लगायतले आ–आफ्नो धारणा राख्दै पार्टी सुदृढीकरण र विकासका मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
उनीहरूले पर्सागढी क्षेत्रको कृषि आधुनिकीकरण, युवालाई रोजगारीका अवसर सिर्जना, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न पार्टीले विशेष पहल गर्ने विश्वास दिलाए।कार्यक्रमका क्रममा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र नेपाली कांग्रेस लगायतका विभिन्न पार्टीबाट सयौँ कार्यकर्ताले एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले टीका–माला लगाएर स्वागत गरेका थिए।
स्थानीय तहमा एमालेप्रति जनआकर्षण बढ्दो रहेको दाबी गर्दै नेताहरूले आगामी निर्वाचनमा बहुअरावाबाट उल्लेखनीय मत परिणाम आउने विश्वास व्यक्त गरे। कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले पनि उत्साह व्यक्त गर्दै घरदैलो तथा क्षेत्रीय अभियानलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे।









