२०८२ फाल्गुन १९ गते मंगलवार

पर्सा–३ मा एमालेको ‘घर फर्किने अभियान’ प्रभावकारी : पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी पुनः एमालेमा प्रवेश

 

एमाले ले सञ्चालन गरेको “घर फर्किने अभियान” ले पर्सा निर्वाचन क्षेत्र नं. ३ मा नयाँ ऊर्जा थपेको छ। यसै अभियानअन्तर्गत पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी पुनः एमालेमा प्रवेश गरेका छन्। पोखरियामा आयोजित एक कार्यक्रमबीच गिरीले औपचारिक रूपमा पार्टीमा फर्किएको घोषणा गरेसँगै पर्सा–३ को चुनावी माहोल थप तातेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गिरीको पुनः प्रवेशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट एमालेका युवा तथा ऊर्जावान उम्मेदवार रूपेश कुमार पाण्डे चुनावी मैदानमा रहेका बेला गिरीको साथ र सक्रियताले पार्टीलाई थप बलियो आधार प्रदान गर्ने विश्वास गरिएको छ।

कार्यक्रममा पार्टीका शीर्ष तथा स्थानीय नेताहरूले गिरीलाई खादा र टीका लगाएर स्वागत गरेका थिए। उपस्थित कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिताले पर्सा–३ मा एमालेप्रति बढ्दो जनआस्था झल्किएको बताइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रह्लाद गिरीले आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर वैचारिक निष्ठा, राजनीतिक स्थायित्व र समृद्ध नेपाल निर्माणको अभियानमा पुनः जोडिएको स्पष्ट पारे। उनले एमालेको नीति, सिद्धान्त र संगठनात्मक अनुशासनप्रति पूर्ण विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
गिरीको अनुभव, संगठनात्मक पकड र क्षेत्रीय प्रभावले पर्सा–३ को चुनावी समीकरणमा उल्लेखनीय प्रभाव पार्ने विश्लेषण गरिएको छ। विशेषगरी गाउँ–टोल तहसम्मको उनको पहुँचले उम्मेदवार रूपेश पाण्डेको अभियानलाई थप सशक्त बनाउने आकलन गरिएको छ।
गिरीसँगै बिन्दवासिनी गाउँपालिकाका युवा नेता रमेश साह लगायत विभिन्न दल परित्याग गरेका चिरपरिचित नेता तथा कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन्।

सो अवसरमा पूर्व संविधानसभा सदस्य प्रधुमन चौहान, मधेस प्रदेश कमिटी सदस्य विजय चौरसिया, वीरेन्द्र यादव, पर्सा जिल्ला कमिटी उपाध्यक्ष मनोज गुप्ता, एमाले नेता प्रमोद जयसवाल, फर्मान मियाँ लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। दलहरूबीच प्रतिस्पर्धा चर्किँदै गए पनि एमालेको संगठनात्मक मजबुती, बढ्दो जनसमर्थन र ‘घर फर्किने अभियान’ को प्रभावले रूपेश कुमार पाण्डेको पक्षमा स्पष्ट जनलहर देखिएको पार्टीका नेताहरूको दाबी छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM