मुलुककै आर्थिक इन्जिन मानिने वीरगंज आज विभिन्न समस्याले थलिएको छ। सडकमा उड्ने धुलो, सिर्सिया नदीको दुर्गन्ध, उद्योगधन्दा बन्द हुँदा बढ्दो बेरोजगारी र बाढीका कारण हुने क्षतिले वीरगंजबासीको दैनिकी प्रभावित बनेको छ। यही अवस्थालाई परिवर्तन गर्ने संकल्पसहित अजय चौरसिया चुनावी मैदानमा उत्रिएका छन्।
चौरसियाले आफ्नो चुनावी अभियानका क्रममा वीरगंजको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। “जुन सहरले देशको ढुकुटी भर्छ, त्यहीँका युवा किन राहदानी बोकेर विदेशिन बाध्य छन्?” भन्ने प्रश्न उठाउँदै उनले उद्योग बन्द हुनु, भ्रष्टाचार बढ्नु र बाढी नियन्त्रणमा कमजोरीलाई असफल नेतृत्वको परिणाम बताएका छन्।
उनका अनुसार अब वीरगंजलाई केवल कर संकलन गर्ने सहरको रूपमा होइन, प्राथमिकतामा राखेर योजनाबद्ध विकास गर्ने नेतृत्व आवश्यक छ।
चौरसियाले भ्रष्टाचार अन्त्यलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न ‘स्वतन्त्र सम्पत्ति छानबिन आयोग’ गठन गर्ने, बेरुजु फछ्र्यौट नगर्ने अधिकारीको पदोन्नति र पेन्सन रोक्ने प्रस्ताव उनले अघि सारेका छन्।
“राजनीति सेवा हो, कमाउने माध्यम होइन,” भन्दै उनले पाँच वर्षमा ५ लाख तथा वार्षिक १.५ लाख रोजगारी सिर्जना गर्ने ‘रोजगार क्रान्ति’ अभियानको घोषणा गरेका छन्। वीरगंजका उद्योगमा स्थानीय युवालाई पहिलो प्राथमिकता दिन कानुनी व्यवस्था गरिने उनको प्रतिबद्धता छ।
महिला र दलित सशक्तीकरणमा जोड महिला उद्यमीलाई २५ प्रतिशत ब्याज छुट, सुत्केरी महिलालाई ६ महिना बिदा, एकल महिलाको भत्ता वृद्धि जस्ता कार्यक्रम उनले सार्वजनिक गरेका छन्।
त्यसैगरी, दलित समुदायको सम्मान र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न ‘दलित अधिकार दशक’ घोषणा गर्ने योजना उनले अघि सारेका छन्। “अब विभेद होइन, सम्मान,” उनको नारा छ।
वीरगंजको पुनर्जागरण योजना वीरगंजको पहिचान बोकेका कृषि औजार कारखाना र चिनी मिल पुनः सञ्चालन गर्ने, साना व्यवसायीलाई वार्षिक १२ लाख रुपैयाँसम्मको आयकरमा पूर्ण छुट दिने र बैंकिङ क्षेत्रमा पारदर्शिता कायम गर्ने योजना उनले प्रस्तुत गरेका छन्।
साथै, वीरगंजलाई धुलो र फोहोरमुक्त ‘स्मार्ट सिटी’ बनाउने तथा सिर्सिया नदीलाई स्वच्छ र सफा बनाउने दीर्घकालीन योजना पनि उनको एजेन्डामा समावेश छ।
यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई वीरगंजको भविष्य तय गर्ने अवसर भएको चौरसियाको भनाइ छ। “वीरगंज उठ्छ भने देश उठ्छ,” भन्दै उनले मतदातालाई डर र प्रलोभनबाट मुक्त भई विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन्।अब मतदाताले वीरगंजको अस्मिता जोगाउने र विकासको नयाँ अध्याय सुरु गर्ने उनको आह्वानलाई कत्तिको साथ दिन्छन् भन्ने हेर्न बाँकी छ।









