२०८२ फाल्गुन १९ गते मंगलवार

पर्सा – २ का रास्वपा उम्मेदवार कानुलाई प्रदेशसभा सदस्य पदका प्रत्याशी लामाले जनाए समर्थन

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुलाई समर्थन जनाउँदै प्रदेशसभा सदस्य पदका पूर्व स्वतन्त्र उम्मेदवार स्याङबो (विनोद) लामा तामाङसहितको टोलीले रास्वपामा प्रवेश गरेको छ ।
सोमबार पर्सागढी नगरपालिका–३ झाबराहमा आयोजित विशेष कार्यक्रमबिच लामा सहितको टोलीले पार्टी प्रवेश गर्दै कानुलाई पूर्ण समर्थन जनाएको हो ।

२०७९ को प्रदेशसभा निर्वाचनमा पर्सा २ (१) बाट ‘फुटबल खेलाडी’ चिन्हमा स्वतन्त्र उम्मेदवारी दिएका लामाले १२८८ मत प्राप्त गरेका थिए । स्थानीय स्तरमा राम्रो पकड रहेका लामाको प्रवेशले कानुको पर्सा–२ मा जनसमर्थन थप बलियो भएको स्थानीयहरूको भनाइ छ ।

कार्यक्रममा बोल्दै नवप्रवेशी लामाले परम्परागत र पुराना दलहरूबाट देश र जनताको जीवनमा कुनै परिवर्तन आउने सम्भावना नदेखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैकल्पिक शक्तिको रूपमा पहिचान गर्दै आफूसहितको टोलीले पार्टी प्रवेश गरेको बताए ।

त्यस्तै उनले पर्सा – २ को नेतृत्व अब युवाको हातमा सुम्पिनु पर्ने बताउँदै सुशील कुमार कानुलाई जिताउन आफूले उनलाई समर्थन गरेको बताए । “पर्सा–२ को नेतृत्व गर्दै यहाँका समस्याहरू समाधान गर्न सक्ने क्षमता सुशील कुमार कानुमा छ । यस क्षेत्रबाट पटक–पटक निर्वाचित भएकाहरूले हामीलाई आश्वासनबाहेक केही दिएनन् । अब रास्वपा र कानुबाट मात्र यस क्षेत्रको विकास सम्भव छ,” उनले भने ।

नवप्रवेशी लामालाई स्वागत गर्दै रास्वपाका प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले लामाको प्रवेशले पर्सा–२ मा रास्वपाको जित सुनिश्चित भएको बताए । उनले अन्य दलका नेता तथा कार्यकर्ताहरूलाई पनि पुरानो दलको झन्डा त्यागेर रास्वपाको छातामुनि आएर परिवर्तनको अभियानमा सहभागी हुन आग्रह गरे ।

कानुले निर्वाचनपछि बन्ने बालेन शाह नेतृत्वको सरकारबाट पर्सा–२ का लागि विकास, समृद्धि, रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षामा सुधार, खेलकुद पूर्वाधार विकास तथा भौतिक पूर्वाधार निर्माणका लागि विशेष प्याकेज ल्याउने प्रतिबद्धता जनाए । उनले पर्सागढीको ऐतिहासिक तथा पर्यटकीय महत्त्वलाई उजागर गर्दै पर्यटन व्यवसायलाई प्रोत्साहन दिने आफ्नो योजना रहेको पनि सुनाए ।

कार्यक्रममा स्थानीय रास्वपा नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM