वीरगन्ज महानगरपालिका वडा नं. २४ रामगढवा क्षेत्रमा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार अजय चौरसिया ले चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
घरदैलो कार्यक्रम अन्तर्गत उम्मेदवार चौरसियाले स्थानीय बासिन्दाको घर–घर पुगेर आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका थिए। उनले स्थानीय नागरिकका समस्या, आवश्यकता र सुझावहरूलाई प्राथमिकताका साथ सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
चौरसियाले नेपाली कांग्रेसले विगतदेखि नै विकास र लोकतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी र रोजगारी सृजनालाई मुख्य एजेन्डा बनाउने बताए। उनले रामगढवा क्षेत्रको समग्र विकासका लागि विशेष योजना ल्याउने प्रतिबद्धता समेत जनाए।
स्थानीयवासीहरूले समेत उत्साहजनक सहभागिता जनाउँदै उम्मेदवारप्रति समर्थन व्यक्त गरेका थिए। घरदैलोका क्रममा विभिन्न टोलका बासिन्दाले सडक स्तरोन्नति, ढल निकास व्यवस्थापन, सरसफाइ र युवा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राखेका थिए।
उम्मेदवार चौरसियाले जनताको विश्वास र साथ नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिह्नमा मतदान गरी आफूलाई विजयी बनाउन आग्रह गरेका छन्।
घरदैलो अभियानले रामगढवा क्षेत्रमा चुनावी माहोल थप सक्रिय बन्दै गएको देखिएको छ।









