पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत जगरनाथपुर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो अभियानलाई तीव्र बनाएको छ। “हर हर घण्टी–घर घर घण्टी, अब की बार–बालेन सरकार” नारासहित सुरु गरिएको अभियान आज जगरनाथपुर गाउँपालिका वडा नं. ४ को जगरनाथपुर गाउँदेखि वडा नं. ३ हुँदै बाँकी रहेको पाणेपुर गाउँसम्म सम्पन्न भएको हो।
अभियानमा पर्सा–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेक बहादुर शाक्य को नेतृत्व रहेको थियो। उहाँसँगै रास्वपाका युवा नेता बृजेश्वर चौधरी लगायत स्थानीय कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
घरदैलो कार्यक्रमअन्तर्गत उम्मेदवार शाक्यले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, गुनासा र सुझाव सुनेका थिए। विशेषगरी कृषि, रोजगारी, सुरक्षा, सडक तथा आधारभूत पूर्वाधारका विषयमा स्थानीयले चासो व्यक्त गरेका थिए।
पूर्व प्रहरी अधिकारीसमेत रहेका शाक्यलाई अनुशासन र सेवा भावको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। कार्यक्रममा बोल्दै उनले सामाजिक न्याय, नागरिक सुरक्षा र आवास अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए। “राजनीति सेवा र जिम्मेवारी हो, अवसर होइन,” उनले भने, “स्थानीयको विश्वास जितेर विकास र सुशासनको नयाँ अध्याय सुरु गर्ने हाम्रो लक्ष्य हो।”
अभियानका क्रममा युवा नेता चौधरीले पनि संगठन विस्तार र युवाको सक्रिय सहभागितामार्फत स्वच्छ राजनीति स्थापनामा जोड दिए। उनले रास्वपालाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न गाउँ–गाउँमा जनसम्पर्क बढाइरहेको बताए।रास्वपाले आगामी दिनमा पनि जगरनाथपुर गाउँपालिकाका विभिन्न वडामा घरदैलो तथा कोणसभा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीय तहदेखि संघीय संसदसम्म सुशासन, पारदर्शिता र जनउत्तरदायी नेतृत्व स्थापना गर्ने उद्देश्यसहित अभियानलाई तीव्र बनाइएको पार्टीले जनाएको छ।









