राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२३ पर्सौनि बिर्तामा बिहीबार साँझ रात्रि कोणसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। पर्सौनि बिर्ता चोकमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका पर्सा सभापति तथा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्तले अब नेपाली जनता राजनीतिक रूपमा सचेत भइसकेको दाबी गरे। उनले विगतका चुनावमा भएका त्रुटिबाट मतदाताले पाठ सिकेको उल्लेख गर्दै यसपटक सही नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे। “जनता अब नझुक्किने अवस्था आइसकेको छ, परिवर्तनको पक्षमा मतदान हुनेछ,” उनले भने।
पन्तले पर्सा क्षेत्र नं. १ को समग्र विकासका लागि स्पष्ट कार्ययोजना अघि सारेको बताउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले दैनिकजसो भइरहेको पार्टी प्रवेश र जनसमर्थनले आफ्नो जित सुनिश्चिततर्फ उन्मुख भएको दाबी गरे।
कोणसभामा पर्सौनि बिर्ताका सयभन्दा बढी स्थानीय युवायुवती तथा अगुवाहरू रास्वपामा प्रवेश गरेका थिए।
नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले अबीर र खादा लगाएर स्वागत गरेका थिए।
कार्यक्रम कृष्ण पासवानको सञ्चालनमा सम्पन्न भएको थियो। सभामा सगिर आलम, महुमुद्दिन अन्सारी, चन्दन यादव लगायतका नेताहरूले पनि मन्तव्य राख्दै रास्वपाको नीतिगत एजेण्डा र आगामी चुनावी रणनीतिबारे धारणा व्यक्त गरेका थिए। उनीहरूले वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपा अघि बढिरहेको उल्लेख गर्दै पर्सामा पार्टीको जनआधार विस्तार हुँदै गएको दाबी गरे।
जितेन्द्र महतोको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य कृष्ण दासले राखेका थिए। सभामा स्थानीय बासिन्दा, युवा तथा महिला समूहको सक्रिय सहभागिता देखिएको थियो।
रास्वपाले आगामी दिनमा पनि पर्सा क्षेत्र नं. १ का विभिन्न वडाहरूमा घरदैलो तथा कोणसभा कार्यक्रमलाई तीव्रता दिने जनाएको छ।









