उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)द्वारा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ को जगरनाथपुर क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त घरदैलो कार्यक्रममा जेन–जेड युवा तथा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई फूलमाला लगाई धुमधामका साथ भव्य स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै गाउँ–टोलका समस्या तथा जनगुनासाहरू सुन्नुका साथै ती समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा विजयको अग्रिम शुभकामना दिएका थिए। साथै, उम्मेदवारको योग्यता, दृष्टिकोण र कार्यक्षमता अध्ययन गरेर मात्र मतदान गर्नुपर्ने धारणा समेत व्यक्त गरिएको थियो।
उम्मेदवार सिंहले युवाहरूका लागि रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा तथा सहज स्वास्थ्य सेवाको विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न उक्त घरदैलो कार्यक्रमले जगरनाथपुर क्षेत्रमा उज्यालो नेपाल पार्टीप्रति बढ्दो जनसमर्थन देखिएको सहभागीहरूले बताएका छन्।








