२०८२ फाल्गुन २७ गते बुधबार

रास्वपा पर्सा सभापति पन्तले दिए मतदातालाई धन्यवाद

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति हरि पन्तले प्रतिनिधिसभा सदस्यमा आफु लगायत चारै क्षेत्रमा रास्वपाका उम्मेदवारहरु विजय भए पछि एक धन्यवाद एबम शुभकामना सन्देश जारी गर्दै मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

पन्तले आफूसँगै जिल्लाका चारै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारहरूको विजयलाई परिवर्तनको लहरको रूपमा व्याख्या गर्दै देशमा भ्रष्टाचार र कुशासन अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सन्देशमा पन्तले भनेका छन्, “पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा आफू सहित जिल्लाका चारै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउनु भएका सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ता तथा साथीहरू र परिवारका सदस्यहरू प्रति हार्दिक आभार प्रकट गर्दछु ।”

उनले मतदाताहरूको साथ, , सहयोग र मार्गदर्शनले नेपालभरि परिवर्तनको लहर आएको दाबी समेत गरेका छन् । “तपाईँहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामीले देशै भरि परिवर्तनको लहर ल्याउन सफल भएका छौँ,” उनले उल्लेख गरेका छन् ।

पन्तका अनुसार, आगामी दिनहरूमा उनीसँगै पर्साका चारै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार, बेथिति र कुशासनलाई अन्त्य गरी विधिको शासन स्थापना गर्ने जिम्मेवारी रहने छ । उनले देशलाई प्रगतिको बाटोमा लैजाने आफूहरूको यात्रामा सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वादको आवश्यकता रहने बताएका छन् । “यस यात्रामा सहकार्य गर्नुहुने तपाईँ सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वादको मलाई आवश्यकता रहनेछ,” उनले सन्देशमा उल्लेख गरेका छन् ।

पर्सा जिल्लामा रहेको चार वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन् । पर्सा – १ मा पन्त निर्वाचित भएका छन् भने पर्सा – २ मा रास्वपा कै उम्मेदवार सुशील कुमार कानु, पर्सा – ३ मा पनि रास्वपाका रमाकान्त चौरसिया र पर्सा – ४ मा रास्वपाका टेक बहादुर शाक्य ऐतिहासिक मतका साथ निर्वाचित भएका छन् । समानुपातिक तर्फ पनि पर्सामा रास्वपा नै पहिलो पार्टी बनेको छ ।

रास्वपाका उम्मेदवारहरूले पर्सा जिल्लामा उल्लेखनीय सफलता हासिल गरेको निर्वाचनलाई राजनीतिक विश्लेषकहरूले परिवर्तनको सङ्केतको रूपमा हेरेका छन् । उनीहरूको विजयले स्थानीय स्तरमा पार्टीको प्रभाव विस्तार गरेको छ भने राष्ट्रिय स्तरमा भ्रष्टाचार विरोधी अभियानलाई बल पुर्‍याउने अपेक्षा गरिएको छ । पार्टीका अन्य नेताहरूले पनि पन्तको सन्देशलाई समर्थन गर्दै आगामी कार्य योजनामा एकजुट हुने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM