वीरगञ्जस्थित बिरगंज तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ। डोजाङका प्रमुख महमद साकिल तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी महमद वेशको नेतृत्वमा उक्त ग्रेडिङ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मैस्कट एकेडेमीका निर्देशक विजय साह र मनीष कुशवाहाको विशेष उपस्थिति रहेको थियो।
ग्रेडिङ परीक्षा सञ्चालनका लागि प्रशिक्षक मन्सुर महमद, राजेन्द्र खड्गी र बिक्रान्त डंगोलको सक्रिय भूमिका रहेको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी अफताब आलम, सन्तोष रौनियार, प्रथम बर्नवाल, मास्कट लगायत अन्य खेलाडीहरूको समेत उपस्थिति रहेको थियो।
बेल्ट ग्रेडिङमा सहभागी विद्यार्थीहरूले उत्साहका साथ आफ्नो तेक्वान्दो सीप प्रदर्शन गरेका थिए। विभिन्न बेल्टका लागि विद्यार्थीहरूले आधारभूत प्रविधि, किक, पुम्से तथा आत्मरक्षासम्बन्धी अभ्यास प्रस्तुत गरेका थिए। प्रशिक्षकहरूले विद्यार्थीहरूको प्रदर्शन, अनुशासन र प्राविधिक दक्षताको आधारमा मूल्याङ्कन गरेका थिए।
कार्यक्रमका आयोजकहरूले बेल्ट ग्रेडिङ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रशिक्षक, खेलाडी तथा अभिभावकहरूलाई धन्यवाद व्यक्त गरेका छन्। साथै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासन, आत्मविश्वास र शारीरिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।








