२०८२ फाल्गुन ३० गते शनिबार

अन्तर्राष्ट्रिय जन सेवा संगठनको कार्यालयको शुभ उद्घाटन समाज सेवाको नयाँ अध्यायको सुरुवात

 

रक्सौल शहरको मौजे चोकस्थित नवगठित संस्थाकी सह–संयोजिका मीतू गुप्ताको निवासमा अन्तर्राष्ट्रिय जन सेवा संगठनको कार्यालयको शुभ उद्घाटन सम्पन्न भएको छ। कार्यक्रममा सामाजिक सरोकारसँग जोडिएका धेरै गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले संस्थाको उद्देश्य र समाज सेवाको संकल्पलाई अगाडि बढाउने विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको शुभारम्भ एसएसबीका इन्स्पेक्टर विकास कुमार, संस्थाकी सह–संयोजिका मीतू गुप्ता, संयोजक दीप प्रकाश (अधिवक्ता) तथा संगठन प्रभारी मीरा कुशवाहाले संयुक्त रूपमा फीता काटेर तथा दीप प्रज्वलन गरी गरेका थिए।

कार्यक्रममा समाजसेवी भरत प्रसाद गुप्त, भारत विकास परिषद्का रजनीश प्रियदर्शी, अजय कुमार, विनोद कुमार ‘ह्याप्पी’ गुप्ता तथा रितेश शर्माले सम्बोधन गर्दै संगठनको आवश्यकता र समाजप्रतिको जिम्मेवारीबारे प्रकाश पारेका थिए। सो अवसरमा संगठनकी कोष प्रभारी सुनीता देवी, सदस्य सचिव नीता कुमारी, सह–सदस्य सचिव कविता देवी, सल्लाहकार चन्दा श्रीवास्तव तथा अस्थायी शाखा प्रभारी प्रतिमा देवी लगायत अन्य कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

वक्ताहरूले आजको दिन सबैका लागि गर्व र खुशीको क्षण भएको उल्लेख गर्दै सेवा, सहयोग र मानवीय संवेदनालाई केन्द्रमा राखेर समाजका विभिन्न वर्गका लागि काम गर्ने संगठनको सुरुवात भएको बताएका थिए।
उनीहरूले समाजको वास्तविक प्रगति सेवा र सहयोगको बलियो आधारमा मात्र सम्भव हुने बताउँदै “नर सेवा नै नारायण सेवा हो” भन्ने भावनालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय जन सेवा संगठनले समाज सेवाको क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे। यो संस्था केवल एक संगठन मात्र नभई समाजका हरेक वर्गसम्म सहयोग र संवेदना पुर्‍याउने सशक्त माध्यम बन्ने वक्ताहरूले बताए।
कार्यक्रममा मातृशक्तिको भूमिकाबारे पनि विशेष चर्चा गरिएको थियो। वक्ताहरूले समाजमा मातृशक्ति परिवारको आधारशिला मात्र नभई संस्कार, करुणा र सेवाको प्रमुख प्रेरणास्रोत भएको बताए। सामाजिक अभियानमा मातृशक्तिको सक्रिय सहभागिताले प्रयासलाई अझ सशक्त र सफल बनाउने उनीहरूको भनाइ थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM