वीरगञ्जस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा भएको गम्भीर चिकित्सकीय त्रुटिका कारण एक बिरामीको मृत्यु भएको घटनामा नेपाल मेडिकल काउन्सिलले सम्बन्धित चिकित्सकलाई अनुशासनात्मक कारबाही गरेको छ।
काउन्सिलले अस्पतालका सञ्चालक तथा चिकित्सक डा. मनोजकुमार गुप्तालाई ६ महिनासम्म अन्य वरिष्ठ विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र उपचार सेवा दिन पाउने गरी कारबाही गरेको हो। फागुन ११ र १२ गते बसेको काउन्सिलको पूर्ण बैठकले घटनासम्बन्धी विवरण, शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान तथा विज्ञहरूको राय–सुझाव अध्ययन गरेपछि उक्त निर्णय गरिएको काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले जानकारी दिएका छन्।
काउन्सिलका अनुसार बाराका ३७ वर्षीय सुरेश साह कानु २०८० कात्तिक १४ गते पित्तथैलीसम्बन्धी समस्या लिएर प्रभु हस्पिटल पुगेका थिए। तर रोगको स्पष्ट पहिचानका लागि आवश्यक परीक्षण नगरी शल्यक्रिया गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। पित्तथैली निकालिएको भन्दै प्रयोगशालामा पठाइएको भनिए पनि बिरामीका परिवारलाई त्यससम्बन्धी आधिकारिक परीक्षण प्रतिवेदन उपलब्ध नगराइएको आरोप समेत लागेको छ।
शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था झन् जटिल बनेपछि उनलाई थप उपचारका लागि अर्को अस्पतालमा लगिएको थियो। त्यहाँ गरिएको परीक्षणबाट शरीरभित्र क्यान्सर फैलिएको तथ्य खुलेको चिकित्सकहरूले बताएका थिए। प्रारम्भिक उपचारमै आवश्यक परीक्षण र सावधानी नअपनाइएपछि बिरामीको अवस्था बिग्रिएको निष्कर्ष चिकित्सकहरूले निकालेका थिए।
उपचार प्रक्रियामा देखिएको त्रुटी र स्वास्थ्य अवस्था निरन्तर जटिल बन्दै गएपछि सुरेश साह कानुको अन्ततः २०८१ साउन ३२ गते निधन भएको थियो। घटनापछि मृतकका आफन्तले न्यायको माग गर्दै २०८१ पुस २८ गते नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गराएका थिए। सोही उजुरीका आधारमा काउन्सिलले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
छानबिनका क्रममा चिकित्सकीय लापरबाही देखिएको ठहर गर्दै काउन्सिलले अनुशासनात्मक कारबाही गरेको हो। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखिने यस्ता घटनाले निजी स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर तथा नियमन प्रणालीप्रति गम्भीर प्रश्न उठाएको भन्दै सरोकारवालाहरूले प्रभावकारी अनुगमन र कडाइ आवश्यक रहेको बताएका छन्।








