२०८२ चैत्र ४ गते बुधबार

नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखामा सिफारिस विवाद : एउटै परिवारका दुई जनालाई तालिममा पठाएको आरोप

 

नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखामा युथ एकेडेमी तालिममा सहभागी छनोट प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। शाखाका कार्यसमिति सदस्य जितेन्द्र वर्माका छोरा–छोरीलाई सिफारिस गरिएको विषय सार्वजनिक भएपछि संस्थाभित्रै आलोचना बढेको हो।

मधेश प्रदेश कार्यालय, वीरगञ्जलाई पठाइएको पत्रअनुसार युथ एकेडेमी तालिमका लागि एक महिला र एक युवा स्वयंसेवकको बायोडाटा सिफारिस गरिएको छ। उक्त सिफारिसमा पुजा वर्मा र राधेश्याम वर्माको नाम समावेश गरिएको छ, जसलाई एउटै अभिभावकका सन्तान भएको बताइएको छ।

आरोपअनुसार शाखाका मन्त्री विनोद गिरीले बिना व्यापक छलफल र जानकारी गोप्य तरिकाले आफ्ना नजिकका व्यक्तिलाई प्राथमिकता दिँदै सिफारिस गरेको दाबी गरिएको छ। यस विषयले संस्थाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाएको छ।

सम्बन्धित पक्षले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर संस्थाभित्रै केही सदस्यहरूले यस्तो कार्यले नेपाल रेडक्रस जस्तो प्रतिष्ठित र मानवीय सेवामा समर्पित संस्थाको छविमा नकारात्मक असर पर्ने बताएका छन्।

नेपाल रेडक्रस सोसाइटीलाई स्वच्छ, निष्पक्ष र सेवामुखी संस्था मानिने गरिन्छ। तर पछिल्ला यस्ता घटनाले संस्थाको विश्वसनीयता कमजोर हुने चिन्ता व्यक्त गरिएको छ। सम्बन्धित निकायले यस विषयमा छानबिन गरी स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग उठिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM