वीरगञ्ज स्थित हरी खेतान बहुमुखी क्याम्पस मा अध्ययनरत करिब ४ सय ५० जना विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिएको छ। उक्त कार्यक्रम सिद्धी आँखा उपचार केन्द्र, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र को संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि रामऔतार खेतान रहेका थिए भने कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान ले गरेका थिए।
कार्यक्रममा डा. आदित्य प्रसाद, डा. बिपिसा श्रेष्ठ लगायतले विशेषज्ञ सेवा प्रदान गरेका थिए। साथै डा.निरज सिंह,दिपेन्द्र टमटा (प्रहरी नायब निरीक्षक), कमल चौगाई (नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष तथा समाजसेवी) लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिविरमा विद्यार्थीहरूको आँखा परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरिएको आयोजकले जनाएको छ। आँखासम्बन्धी समस्या पहिचान र समयमै उपचारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
यसैबीच लायन्स क्लब काठमाडौं बाट आएका लायन्सकर्मीहरूले कार्यक्रममा विशेष योगदान पुर्याउने रामऔतार खेतान,डा.निरज सिंह,दिपेन्द्र टमटा र जय प्रकाश खेतान लाई पिन प्रदान गरी सम्मानित गरेका थिए।
आयोजक संस्थाहरूले भविष्यमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।








