२०८२ चैत्र १० गते मंगलवार

मारवाडी प्रिमियर लिग–३ सेमिफाइनल सम्पन्न, गौरीशंकर हिटर्स र अन्नपूर्ण टाइगर्स फाइनलमा

 

मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालित “मारवाडी प्रिमियर लिग–३” अन्तर्गत १०औँ दिनका सेमिफाइनल खेलहरू वीरगञ्जस्थित आदर्शनगर रंगशालामा उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन्।

स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भएको हो भने चैत १० गते फाइनल खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ र कुल २३ खेल खेलाइने कार्यक्रम रहेको छ। विजेताले ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक केशव खेतानले जानकारी दिएका छन्।

सेमिफाइनल अन्तर्गत पहिलो खेल गौरीशंकर हिटर्स र माछापुच्छ्रे बीटीएस ब्लास्टर्सबीच भएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निर्धारित १५ ओभरमा १२१–१२१ रन बनाउँदै बराबरी खेलेपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै गौरीशंकर हिटर्सले फाइनलमा स्थान सुरक्षित गरेको हो।

त्यसैगरी दोस्रो सेमिफाइनल खेल अन्नपूर्ण टाइगर्स र कञ्चनजंघा वीरगञ्ज स्ट्राइकरबीच सम्पन्न भयो। अन्नपूर्ण टाइगर्सले पहिले ब्याटिङ गर्दै १५ ओभरमा ८ विकेट गुमाएर ११० रन बनाउँदै १११ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कञ्चनजंघा वीरगञ्ज स्ट्राइकर १५ ओभरमा सबै विकेट गुमाएर १०२ रनमा समेटिएपछि अन्नपूर्ण टाइगर्स ८ रनले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो।
अब प्रतियोगिताको फाइनल खेल भोलि मंगलबार आयोजना हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM