स्रोत नखुलेको नगदसहित एक जनालाई सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकाबाट पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ भित्रिँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उक्त रकम बरामद गरिएको हो।जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका१६ स्थित भन्सार मेनगेटमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्सा वीरगञ्जबाट खटिएको चेकपोस्ट टोलीले मंगलबार दिउँसो मोटरसाइकल रोकी जाँच गरेको थियो।
सप्रसनि मोहमद मुस्ताक अलीको कमाण्डमा खटिएको ७ जनाको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको हिरो होण्डा मोटरसाइकल जाँच गर्ने क्रममा चालक पर्सा वीरगञ्ज महानगरपालिका–८ गहवा निवासी अन्दाजी ४४ वर्षीय अनिल कुमार शाहलाई नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा मोटरसाइकलको सिट कभर मुनि प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा स्रोत नखुलेको नगद फेला परेको प्रहरीले जनाएको छ। बरामद नगदमध्ये नेपाली १,००० दरका ९०० थान नोट गरी जम्मा ९ लाख रुपैयाँ रहेको पुष्टि गरिएको छ।
पक्राउ परेका शाह, बरामद नगद तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।
सीमा सुरक्षा गुल्मका प्रमुख डिएसपी विकास अधिकारीका अनुसार उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ र स्रोत नखुलेको रकमको उत्पत्तिबारे खोजी कार्य तीव्र पारिएको छ।








