वीरगञ्ज मा ‘टिम आदर्शनगर’ को आयोजनामा सञ्चालन हुन लागेको वीरगञ्ज प्रिमियर लिग (बीपीएल–३) को ट्रफी सार्वजनिक गरिएको छ। आइतबार गहवामाई मन्दिर अगाडि आयोजित एक विशेष कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद हरि पन्त ले ट्रफी सार्वजनिक गरेका हुन्।
सुमित कादमियाको संयोजकत्वमा सञ्चालन हुन लागेको प्रतियोगिताको ट्रफी एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। कार्यक्रममा बोल्दै संयोजक कादमियाले स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार यस किसिमका प्रतियोगिताले युवाहरूमा खेलप्रति रुचि बढाउने र नयाँ प्रतिभा पहिचान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
उनले वीरगञ्जमा क्रिकेट लगायतका खेल गतिविधि पछिल्लो समय विस्तार हुँदै गएको उल्लेख गर्दै बीपीएल–३ ले खेलकुद क्षेत्रलाई अझ चलायमान बनाउने अपेक्षा व्यक्त गरे। प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहने र प्रतिस्पर्धात्मक खेलहरू मार्फत खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने उनले बताए।
उक्त कार्यक्रममा बीपीएल–३ मा सहभागी हुने विभिन्न टिमका कप्तानहरूको उपस्थिति रहेको थियो। साथै सुमित चौरसिया, निरज गुप्ता लगायत युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो, जसले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
कार्यक्रमको सञ्चालन सद्दाम हुसेनले गरेका थिए।








