विद्यार्थीको भविष्य कोर्ने ‘शिक्षाको मन्दिर’ मानिने विश्वविद्यालयभित्रै एक कर्मचारीले छात्रामाथि अनैतिक सम्बन्धका लागि दबाब दिँदै करियर नै धरापमा पार्ने धम्की दिएको सनसनीपूर्ण खुलासा भएको छ । वीरगञ्जस्थित मधेश विश्वविद्यालयमा कार्यरत कर्मचारी राजु गद्दीले बी.ए.एल.एल.बी. प्रथम वर्षमा अध्ययनरत एक छात्रालाई प्रेम प्रस्ताव राख्ने र अस्वीकार गरेपछि परीक्षामा नम्बर घटाइदिने धम्की दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सेवाको नाममा ‘कुदृष्टि’
पीडित छात्रा (नाम परिवर्तन: रुबिना) का अनुसार यो सिलसिला कलेजको स्वागत कार्यक्रमको दिनदेखि सुरु भएको थियो । कार्यक्रममा ढिला पुगेकी छात्रालाई गद्दीले सहयोग गर्ने बहानामा आफ्नो मोटरसाइकलमा बसाएर कार्यक्रम स्थलसम्म पुर्याएका थिए । सोही क्रममा उनले छात्राको पारिवारिक पृष्ठभूमि बुझ्दै मोबाइल नम्बर लिएका थिए । त्यसपछि सुरु भएको ह्वाट्सएप र फोन संवाद अन्ततः अश्लील दबाब र अनैतिक प्रस्तावमा परिणत भएको पीडितको गुनासो छ ।
छात्रवृत्तिको लोभ र मार्क्सको धम्की
छात्राले गद्दीको ‘प्रेम प्रस्ताव’ अस्वीकार गर्दै उनको नम्बर ब्लक गरेपछि उनले आफ्नो पदिय हैसियतको दुरुपयोग गरी धम्क्याउन सुरु गरेका थिए । उजुरीमा उल्लेख भएअनुसार गद्दीले भनेका थिए— “यदि मेरो कुरा मानिनौ भने परीक्षामा मार्क्स घटाइदिन्छु, र यदि प्रस्ताव स्वीकार गरेमा स्कलरसिप (छात्रवृत्ति) मा पारिदिन्छु ।”आफूमाथि बारम्बार मानसिक सास्ती र करियर बर्बाद पार्ने धम्की आएपछि पीडित छात्राले न्यायका लागि प्रशासनको ढोका ढकढक्याएकी थिइन् ।
फरार अभियुक्त फन्दामा
गद्दी विरुद्ध चैत १४ गते जिल्ला प्रशासन कार्यालय, पर्सामा उजुरी परेपछि उनी मोबाइल स्विच अफ गरेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनको खोजी तीव्र पारेको थियो । अन्ततः लुकिछिपी बसेको अवस्थामा उनलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी हरि बहादुर बस्नेतले अभियुक्तलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पुष्टि गर्नुभएको छ ।
अन्य विद्यार्थी पनि पीडित भएको आशंका
श्रोतका अनुसार गद्दीले यसअघि पनि अन्य छात्राहरूसँग यस्तै प्रकृतिको दुर्व्यवहार गर्ने गरेको खुलेको छ । यतिबेला उनलाई राजनीतिक वा अन्य पहुँचका आधारमा छुटाउन केही “दलाल प्रवृत्ति” का व्यक्तिहरू सक्रिय रहेको बताइएको छ । तर, विश्वविद्यालय जस्तो संवेदनशील क्षेत्रमा छात्राको अस्मिता र भविष्यमाथि खेलबाड गर्ने कर्मचारीलाई कडा सजाय हुनुपर्ने माग उठ्न थालेको छ ।








