२०८२ चैत्र १७ गते मंगलवार

रक्सौलमा नशालु इन्जेक्सनको ठूलो खेप बरामद, दुई नेपाली तस्कर पक्राउ

 

भारत–नेपाल सीमासँग जोडिएको रक्सौल क्षेत्रमा प्रहरीले नशाविरुद्ध ठूलो सफलता हासिल गरेको छ। प्रहरी अधीक्षक (एसपी) हेमन्त कुमार सिंहको निर्देशनमा गरिएको कारबाहीमा रक्सौल थाना क्षेत्रअन्तर्गत कौड़ीहर चौकबाट २,२८५ थान नशालु इन्जेक्सन बरामद गरिएको छ।
उक्त घटनामा नेपालका दुई जना तस्कर अबजाल मियाँ र हेमन्त नारायण महतो पक्राउ परेका छन्। उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साथै, यस अवैध सञ्जालसँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी कार्य पनि तीव्र पारिएको छ।

बरामद गरिएका इन्जेक्सनहरूमा Promethazine Hydrochloride, Diazepam र Buprenorphine जस्ता औषधिहरू रहेका छन्, जसको अवैध रूपमा नशाको रूपमा प्रयोग हुँदै आएको छ। यी औषधिहरूको दुरुपयोगले युवाहरूमा लत, मानसिक समस्या तथा शारीरिक कमजोरी जस्ता गम्भीर असर पार्ने चिकित्सकहरूले बताएका छन्।
एसपी हेमन्त कुमार सिंहले नशाविरुद्धको अभियानलाई अझ सशक्त बनाइने बताउँदै यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्। उनले भारत–नेपाल सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको र आगामी दिनमा थप कडाइ गरिने जानकारी दिए।

यस कारबाहीपछि स्थानीयवासीले राहत महसुस गरेका छन्। सीमा क्षेत्रमा लामो समयदेखि नशालु पदार्थको तस्करी समस्या बन्दै आएको अवस्थामा प्रहरीको यो कदमलाई महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM