२०८२ चैत्र २० गते शुक्रबार

वीरगंजमा हनुमान जन्मोत्सवको अवसरमा २१ गते ‘बृहत् शोभा यात्रा’ निकालिने

 

वीरगंजमा आगामी २१ गते शनिबार हनुमान जन्मोत्सवको पावन अवसर पारेर एक विशाल र ऐतिहासिक ‘बृहत शोभा यात्रा’ आयोजना हुने भएको छ। “मम दिक्षा हिन्दू रक्षा : मम मन्त्र समानता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस धार्मिक अनुष्ठानले नगरको सांस्कृतिक र आध्यात्मिक गरिमालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। विश्व हिन्दू परिषद्को मुख्य अगुवाईमा हुन लागेको यस कार्यक्रमको स्वरूप यसपटक निकै व्यापक बनाइएको छ, जहाँ वीरगंजका टोल-टोलबाट शोभा यात्राहरू निस्किएर घण्टाघरमा एकत्रित हुनेछन् र त्यसपछि मात्र सामूहिक रूपमा नगर परिक्रमा सुरु हुनेछ।

​यसै तयारीको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर ६ बाट निकालिने र्‍यालीको मुख्य नेतृत्व र सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी श्री गहवामाई तिर्थ क्षेत्र विकास समितिले लिएको छ। माईस्थानस्थित ऐतिहासिक गहवामाई मन्दिर परिसरबाट गाजाबाजा र भव्य झाँकीका साथ निस्कने यस र्‍यालीलाई व्यवस्थित बनाउन युवा नेतृत्व ओशन गुप्तालाई वडा नम्बर ६ को संयोजकको जिम्मेवारी सुम्पिएको छ। उहाँको नेतृत्वमा वडाका सम्पूर्ण हिन्दू संगठनहरू एकजुट भएर यो धार्मिक उत्सवलाई सफल बनाउन अहोरात्र खटिएका छन्।

​स्थानीय प्रबुद्ध व्यक्तित्व डा. पुरुषोतम दुबेका अनुसार यसपटकको शोभा यात्रामा समाजका हरेक तप्काको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। विशेष गरी नगरका बुद्धिजीवी, जुझारु युवा शक्ति र मातृशक्तिको ठूलो र सक्रिय उपस्थिति रहने गरी तयारी मिलाइएको छ, जसले वीरगंजको धार्मिक सहिष्णुता र एकतालाई अझ मजबुत बनाउने उहाँको विश्वास छ।
​यसैबीच श्री गहवामाई तिर्थ क्षेत्र विकास समितिका सचिव श्री

लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ताले) प्रेस विज्ञप्ति जारी गर्दै आगामी २१ गते शनिबार दिउँसो १ बजेभन्दा अगावै माईस्थान क्षेत्रमा उपस्थित भई शोभा यात्रामा सहभागी भइदिनुहुन सम्पूर्ण नगरवासी र श्रद्धालु भक्तजनहरूमा हार्दिक अपिल गर्नुभएको छ। वीरगंजका सडकहरूमा भव्य झाँकी, भजन र जय श्रीरामको गुञ्जनका साथ निस्कने यो यात्रालाई ऐतिहासिक रूपमा सम्पन्न गर्न सुरक्षा र स्वयंसेवकहरूको व्यवस्थापन समेत पुरा भइसकेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM