२०८२ चैत्र २० गते शुक्रबार

बिरगंजमा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको प्रयास गर्ने अधवैंशे पुरुषलाई प्रहरी द्वारा नियन्त्रण

 

वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको प्रयास गर्ने अधवैंशे पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगन्ज–८ दुर्गा हलको छेउमा रहेको किराना र मासु पसल सञ्चालन गर्ने छपकैया निवासी ५० वर्षीय इस्माइल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पसलभित्रै अश्लिलता र कुकर्मको प्रयास परिवारका अनुसार बिहान करिब ११ बजेको समयमा पीडित बालिका (परिवर्तित नाम: रिमा) पसलको पुरानो बाँकी रकम तिर्न गएकी थिइन्। सोही मौका छोपी मियाले बालिकालाई पसलभित्र लगी मोबाइलमा अश्लिल भिडियो देखाउँदै अनैतिक कार्यको प्रयास गरेका थिए। ५० वर्षका मियाले नातिनी उमेरकी बालिकामाथि गरेको यो हर्कतले स्थानीयलाई स्तब्ध बनाएको छ।

अपराधीको हातै टोकेर भागिन् आफूमाथि जबरजस्ती गर्न खोजेपछि ती बालिकाले अदम्य साहस प्रदर्शन गरेकी थिइन्। उनले अभियुक्त मियाको हातमा दाँतले जोडले टोकेर उसको चंगुलबाट उम्कन सफल भएकी थिइन्। अपराधीको पञ्जाबाट उम्किएर घर पुगेकी बालिकाले रुँदै परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन्। घटनापछि आक्रोशित बनेका आफन्त र स्थानीय बासिन्दा पसलमा पुग्दा मिया पसल बन्द गरी फरार भइसकेका थिए।

पीडित परिवारले वडा प्रहरी कार्यालय बिर्तामा लिखित निवेदन दिएलगत्तै प्रहरीले सक्रियता बढाएको थियो। लुकिछिपी बसेको अवस्थामा मियालाई छपकैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ परेका मियामाथि  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नाबालिकामाथि भएको यस जघन्य अपराधको प्रयासलाई लिएर वीरगन्जवासीले कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM