वीरगंज–५ स्थित मुनलाइट स्कुलमा दृष्टि सम्बन्धी अपाङ्गता भएका खेलाडीहरूका लागि ५ दिने नेत्रहीन क्रिकेट प्रशिक्षण कार्यक्रम शनिबारबाट सुरु गरिएको छ। मधेश प्रदेश नेत्रहीन क्रिकेट संघको आयोजना तथा राउन्ड टेबल नेपाल BFRT 8 को सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
पर्वत, तनहुँ, चितवन, गोरखा, पर्सा लगायत देशका १२ जिल्लाबाट आएका २० जना खेलाडीहरूको सहभागिता रहेको उक्त कार्यक्रम आइज नेपाल पर्साका कोषाध्यक्ष रुपशिला जैसवालको अध्यक्षता तथा राउन्ड टेबल नेपाल BFRT 8 का अध्यक्ष दीपक कुमार अग्रवालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो। प्रमुख अतिथि अग्रवालले ब्यानर वाचन गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए।
कार्यक्रममा बोल्दै अग्रवालले राउन्ड टेबल नेपालले सधैं दिनदुखी तथा असहायको सेवामा सक्रिय रहँदै आएको उल्लेख गर्दै दृष्टि अपाङ्गता भएका खेलाडीहरूको प्रतिभा उजागर गर्न सहयोग गर्न पाउँदा गर्व लागेको बताए। उनले मेहनत र लगनले सफलता अवश्य प्राप्त हुने विश्वास व्यक्त गर्दै सहभागी खेलाडीहरूलाई शुभकामना दिए।
विशिष्ट अतिथि तथा शिक्षाविद् मार्टिन मोक्तानले यस्ता खेलाडीहरूको साहस, धैर्यता र संघर्षबाट समाजले धेरै सिक्नुपर्ने बताए। साथै, यस्ता प्रतिभाशाली खेलाडीहरूको जिम्मेवारी स्थानीय, प्रदेश र संघीय सरकारले लिनुपर्ने धारणा राखे।
त्यसैगरी, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले दृष्टि अपाङ्गता भएका खेलाडीहरूलाई विशेष व्यक्तित्वको रूपमा सम्मान गर्दै उनीहरूको प्रयास प्रशंसनीय रहेको बताए। जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सराफले पनि खेलाडीहरूको प्रशंसा गर्दै राज्यले पिछडिएका वर्गका खेलाडीहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए।
राउन्ड टेबलका मोहित राजपालले संस्थाले विभिन्न सामाजिक सेवामूलक कार्यक्रम गर्दै आएको बताउँदै यस्ता खेलाडीहरूको सहयोग गर्न पाउँदा गर्व लागेको र आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी मनकेशी चौधरीले अतिथिहरूलाई खादा ओढाएर स्वागत गरेकी थिइन्। स्वागत मन्तव्य आइज नेपाल पर्साका सचिव उदित कुमार साहले व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण मधेश प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष तथा आइज नेपालका अध्यक्ष महेश साहले गरेका थिए।
कार्यक्रमकी अध्यक्ष रुपशिला जैसवालले समाजमा विभिन्न कारणले पछि परेका खेलाडीहरूलाई अघि बढाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै सहभागी खेलाडीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरिन्।








