पर्सा जिल्लाको महत्वपूर्ण श्रीसिया नदीमा बढ्दो प्रदूषण नियन्त्रणका लागि आज एक उच्चस्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ। वीरगंज महानगरपालिकाको आयोजना तथा नगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव प्रमुख अतिथि रहेका थिए।

छलफलमा मन्त्री यादवले नदीको संरक्षण तथा प्रदूषण न्यूनीकरणलाई संघीय सरकारले प्राथमिकताको रूपमा लिएको स्पष्ट गर्दै, “श्रीसिया नदीको प्रदूषण समस्यालाई तत्काल नियन्त्रण गर्न र दीर्घकालीन समाधानका लागि योजनाबद्ध रुपमा अघि बढ्नेछौं,” भन्ने दृढ प्रतिवद्धता व्यक्त गरे।
उनले एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा, खानेपानी मन्त्रालयको सहलगानीमा आवश्यक बजेट विनियोजन गरी कार्य योजना निर्माण भइरहेको जानकारी पनि दिए। मन्त्रालयका तर्फबाट दीर्घकालीन योजना तयार पार्दै नदी संरक्षणका लागि अविलम्ब कार्यान्वयन सुरु गरिने बताए।
नगरप्रमुख सिंहले वीरगंज महानगरपालिकाले प्रदूषण नियन्त्रणका प्रस्तावहरू तयारी अवस्थामा रहेको जानकारी गराउँदै संघीय सरकारसँग आवश्यक समन्वय र समर्थनको अपेक्षा व्यक्त गरे।

मन्त्री यादवले वीरगंज महानगरपालिकालाई यथाशीघ्र आवश्यक प्रस्ताव पेश गर्न आग्रह गर्दै, श्रीसिया नदीको सफाइ तथा प्रदूषण रोकथामका लागि स्थानीय, प्रदेश र संघ सरकारको सहकार्य अनिवार्य रहेको बताए।
कार्यक्रममा सरोकारवाला निकाय, वातावरणविद्, स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो।









