वीरगंज महानगरपालिका वडा नं. ६ स्थित माईस्थान क्षेत्रको २ नं. रोड को सौन्दर्यकरण तथा सडक निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। मधेश प्रदेशसभा पर्सा क्षेत्र नं. २(ख) का प्रदेशसभा सदस्य माननीय श्रीमती बिना देवी शर्माको संसदीय विकास कोष तथा व्यक्तिगत पहलमा सम्पन्न उक्त सडक उद्घाटन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रममा विशेष अतिथिको रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व मन्त्री राजेन्द्र बहादुर आमात्य, स्थानिय जनप्रतिनिधिहरू, टोल विकास संस्थाका पदाधिकारीहरू, समाजसेवी, बुद्धिजीवी तथा टोलबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गहवामाईदेखि आदर्शनगरसम्मको २ नं. रोड विगत लामो समयदेखि जीर्ण अवस्थामा रहँदै आएको र जनताले निकै कठिनाइका साथ आवतजावत गर्दै आएकोमा अब पक्की ढल, पिच सडक एवं आधुनीक पेवेरस लगाई सौन्दर्यकरण कार्य सम्पन्न भएपछि सर्वसाधारण अत्यन्तै हर्षित भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय शर्माले भनिन “यो सडक बनाउने मेरो सपना थियो। धेरै वर्षदेखि यसको आवश्यकताको कुरा उठाउँदै आएकी थिएँ। विपक्षी दलहरूले अवरोध पुर्याउँदा पनि म डगमगाइनँ। अन्ततः आज यो सडक बनाउने सपना पुरा भएको छ। अहिलेको अवस्थामा यो सडकले सर्वसाधारणको दैनिकीलाई सहज बनाउनेछ, यो मेरो लागि गर्वको क्षण हो।”
उनले थप भनिन् कि भविष्यमा पनि विकास निर्माणका कार्यमा कुनै सम्झौता नगरी निरन्तर लागिरहनेछु।

स्थानीय बासिन्दाहरूले समेत सडक निर्माणपछि राहतको महसुस गर्दै माननीय शर्माप्रति आभार व्यक्त गरे। कार्यक्रमको समापनमा सडक निर्माण कार्यमा संलग्न प्राविधिक, श्रमिक तथा स्थानीय सहयोगकर्तालाई धन्यवाद दिइएको थियो।









