२०८२ फाल्गुन २९ गते शुक्रबार

प्याब्सन बिरगंज द्वारा छात्रवृत्ति परीक्षा २०८२ भव्य रूपमा सम्पन्न

 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) द्वारा सञ्चालित छात्रवृत्ति परीक्षा २०८२ आज शनिबार, साउन १० गते वीरगञ्जमा भव्य र मर्यादित रूपमा सम्पन्न भएको छ।

उक्त परीक्षा वीरगञ्ज–११, राधेमाईस्थित एस.आर. ग्यालेक्सी एकेडेमीको परिसरमा सम्पन्न भएको हो। प्याब्सन वीरगञ्ज महानगर समिति र प्याब्सन पर्सा जिल्ला समितिको संयुक्त समन्वयमा आयोजित यस छात्रवृत्ति परीक्षामा ४ सयभन्दा बढी विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो।

प्याब्सनद्वारा प्रत्येक वर्ष सञ्चालन गरिने छात्रवृत्ति परीक्षाको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर, विपन्न तथा ग्रामीण क्षेत्रका मेधावी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर सुलभ गराउनु रहेको छ। यस वर्षको परीक्षा कार्यक्रमले झनै प्रभावशाली रूपमा उपस्थित भई समाजमा सकारात्मक सन्देश फैलाएको छ।

परीक्षा बिहान ठीक १० बजे सुरु गरिएको थियो। परीक्षा पूर्व तयारीदेखि सञ्चालनसम्मको सम्पूर्ण प्रक्रिया सुरक्षा, गोपनीयता र निष्पक्षताका आधारमा सम्पन्न गरिएको थियो।

प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिँदै भन्नुभयो “यो छात्रवृत्ति परीक्षा सबैका लागि समान अवसर सिर्जना गर्ने एउटा सशक्त माध्यम हो। हामी यसमार्फत विद्यार्थीहरूको प्रतिभा पहिचान गर्दै उनीहरूलाई निजी विद्यालयहरूमा छात्रवृत्तिसहित अध्ययन गर्ने मौका दिन चाहन्छौँ।”

परीक्षामा वीरगञ्ज उपमहानगरपालिका लगायत बाराको केही नजिकका स्थानीय तहहरूबाट समेत विद्यार्थीहरू सहभागी भएका थिए।विशेषतः कक्षा १० पास गरेका विद्यार्थीहरूले यो छात्रवृत्ति परीक्षामा सहभागीता जनाएका थिए। 

परीक्षाको सम्पूर्ण व्यवस्थापनमा प्याब्सनका पदाधिकारी, शिक्षकहरू, विद्यालय प्रतिनिधिहरू, स्वयंसेवकहरू, तथा विद्यार्थी अभिभावकहरूको उल्लेखनीय योगदान देखिएको थियो।

परीक्षाको नतिजा आउने शुक्रबार सार्वजनिक हुने छ।सार्वजनिक भएपछि, उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई प्याब्सन अन्तर्गतका विभिन्न निजी कलेजहरुमा पूर्ण छात्रवृत्ति दिइनेछ।छात्रवृत्तिका आधारहरूमा लिखित नतिजा मुख्य आधार रहनेछ।

परीक्षा स्थलमा प्याब्सनका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।उपस्थित प्रमुख प्रतिनिधिहरूमा निम्न व्यक्तिहरू थिए प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव,सचिव अमित आलोक,एस.आर. ग्यालेक्सी एकेडेमीका प्रिन्सिपल शर्मानन्द कुशवाहा,तथा व्यवस्थापक एवं शिक्षकहरुको उपस्थिति रहेको थियोे।

परीक्षाको दिन बिहानैदेखि परीक्षा केन्द्रमा विद्यार्थीहरू तथा अभिभावकहरूको उल्लेखनीय भिड देखिएको थियो।
अभिभावकहरूले यस्तो छात्रवृत्ति परीक्षाले आफूजस्ता निम्न आय भएका परिवारका बालबालिकालाई पनि गुणस्तरीय निजी शिक्षालयमा अध्ययनको अवसर दिन सक्ने भन्दै खुसी व्यक्त गरेका थिए।

छात्रवृत्ति परीक्षा २०८२ को सफल सञ्चालनले वीरगञ्ज र आसपासका क्षेत्रका मेधावी विद्यार्थीहरूलाई समान अवसर, गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको ढोका खोल्ने मार्ग प्रशस्त गरेको छ।प्याब्सनको यस्तो प्रयास शिक्षामा समावेशीकरण र सामाजिक उत्तरदायित्वको उदाहरणीय नमूना बनेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM