पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. १ स्थित धोरे सडकखण्डमा भेडिअर्वा गाउँबाट धोरेतर्फ शंकास्पद रूपमा हिँडिरहेका एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।
प्रहरी चौकी धोरे पर्साबाट खटिएको नियमित चेकिङ टोलीले उक्त युवकलाई रोकी खानतलासी गर्दा, जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं. २ मधुबनीका २२ वर्षीय दिलिप कुमार सहनीले बोकेको निलो झोलामा लुकाइछिपाइ राखिएको ४५० एम्पुल लागुऔषध फेला पारेको हो।
प्रहरीका अनुसार, आलु र प्याजभित्र लुकाइएको अवस्थामा फेला परेका लागुऔषधहरूमा Buprenorphine Injection I.P. 2ml (NOOPHIN) 150 एम्पुल, Diazepam Injection I.P. 150 एम्पुल, र Promethazine Hydrochloride Injection I.P. (PHENERGAN) 150 एम्पुल रहेका छन्।
प्रहरीले सहनीलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरिया, पर्सामा ल्याइएको जानकारी दिएको छ। साथै, पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीको भनाइमा: “यस्ता अवैध लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई निरन्तर निगरानी गरी कडा कारबाही गरिनेछ।”









