निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साद्वारा सञ्चालनमा रहेको संगठन विस्तार अभियान अन्तर्गत आज दोश्रो दिन पर्सा जिल्लाका विभिन्न पालिकाहरु ठोरी गाउँपालिका, जिरा भवानी गाउँपालिका, सखुवा पर्सौनी गाउँपालिका र बहुदरमाई नगरपालिकाको भ्रमण सम्पन्न गरिएको छ।
भ्रमण टोलीमा प्रमुख उपस्थिति प्याब्सन पर्सा अध्यक्ष सरोज प्रसाद चौधरी,प्याब्सन केन्द्रीय सदस्य छेदुप लामा,प्याब्सन मधेश प्रदेश सल्लाहकार इमामुद्धिन अहमद,प्याब्सन ठोरी गाउँपालिका फोकल पर्सन सुरेश पन्त रहेका थिए।
भ्रमणको क्रममा स्थानीय तहमा रहेका निजी विद्यालयका प्रतिनिधिहरूसँग छलफल, संवाद र संगठनमा आवद्धता सम्बन्धी जानकारी आदानप्रदान गरिएको थियो। साथै संगठनको नीति, उद्देश्य र भावी योजना बारे पनि विद्यालय सञ्चालक तथा शिक्षकहरूसँग व्यापक छलफल गरियो।
प्याब्सन पर्सा अध्यक्ष सरोज चौधरीले कार्यक्रममा बोल्दै भने, “प्याब्सन अब गाउँ–गाउँसम्म पुग्ने छ। सशक्त संगठन निर्माण बिना शिक्षामा गुणस्तर र सुधार सम्भव छैन। सबै निजी विद्यालयहरूलाई एउटै मञ्चमा ल्याई शिक्षाको पक्षमा सामूहिक आवाज बुलन्द गर्ने हाम्रो लक्ष्य हो।
“प्याब्सन केन्द्रीय समितिले सबै जिल्ला र पालिकामा संगठन विस्तारलाई प्राथमिकतामा राखेको छ। पर्साको सक्रियता सराहनीय छ, यही उत्साह र सहकार्यले नै हामीलाई संस्थागत रूपले बलियो बनाउनेछ।”
“मधेश प्रदेशस्तरमा प्याब्सनले एकीकृत रणनीतिअन्तर्गत शैक्षिक मापदण्ड, नीति निर्माण र शिक्षक हित संरक्षणमा निरन्तरता दिनेछ। गाउँ तहसम्म संगठनको उपस्थिति अत्यन्त आवश्यक छ।”
भ्रमण टोलीले सम्बद्ध पालिकाका विद्यालयहरूसँग छलफल गर्दै आगामी दिनमा पालिकास्तरिय प्याब्सन समिति गठन गर्ने कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्।
भ्रमणको उद्देश्य:स्थानीय विद्यालयहरूसँग संवाद,प्याब्सनमा सदस्यता अभिवृद्धि,संगठनात्मक सुदृढीकरण
शिक्षा क्षेत्रको चुनौती र समाधानमा साझेदारी
प्याब्सन पर्साले सुरु गरेको यो अभियानले जिल्लाका सबै पालिकामा संगठन विस्तार गर्ने लक्ष्य लिएको छ। अभियान अन्तर्गत आउने दिनहरूमा अन्य पालिकाहरूको पनि चरणबद्ध रूपमा भ्रमण गरिने जानकारी दिइएको छ।









