निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साको संगठन विस्तार अभियानले थप गति लिएको छ। यसै अभियान अन्तर्गत बीरगन्जका दुई प्रतिष्ठित विद्यालयलाई नयाँ सदस्यता प्रदान गरिएको छ।

प्याब्सन बीरगन्ज उपशाखाको सिफारिसमा २०८२ साउन ८ गते बसेको प्याब्सन पर्सा जिल्ला कार्यसमितिको ९ औं बैठकले सर्वसम्मत निर्णय गर्दै निम्न दुई विद्यालयलाई प्याब्सनको सदस्यता प्रदान गरेको हो गौतम बुद्ध पब्लिक स्कूल प्रा.लि. अर्को ज्ञान वाटिका ईङ्गलिस स्कूल प्रा.लि.रहेको छ।
नयाँ विद्यालयहरूलाई सदस्यता प्रदान गर्नुअघि आवश्यक प्रक्रियाको रूपमा जिल्ला कार्यसमिति अन्तर्गत गठन गरिएको सदस्यता जाँचबुझ तथा सिफारिस समितिले मूल्यांकन गरी सिफारिस गरेको थियो। समितिका संयोजक इमामुद्दिन अहमदले यी विद्यालयहरू शैक्षिक, भौतिक र संस्थागत मापदण्डमा खरा उत्रिएको निष्कर्षसहित सदस्यताका लागि सिफारिस गर्नुभएको हो।
उनले प्याब्सन पर्साले संगठनलाई अझ समावेशी, सुदृढ र दिगो बनाउने लक्ष्यसहित अभियानलाई निरन्तरता दिइरहेको जानकारी दिनुभयो।
नयाँ दुई विद्यालय थपिएसँगै प्याब्सन पर्सामा आबद्ध विद्यालयहरूको संख्या ५३ पुगेको छ। संगठन विस्तारसँगै प्याब्सनले जिल्लाभरका निजी विद्यालयबीच सहकार्य, गुणस्तरीय शिक्षा प्रवर्द्धन र संस्थागत सुदृढीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।उक्त जानकारी प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले दिनु भयो।









