प्रसौनी गाउँपालिकाले आफ्ना नागरिकहरूलाई गुणस्तरीय, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंज–१५, भेडियाही सँग एक ऐतिहासिक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ।
बुधबार सम्पन्न कार्यक्रममा प्रसौनी गाउँपालिकाका नगर प्रमुख विनोद प्रसाद जयसवाल र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी बीच औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार प्राप्त हुने स्वास्थ्य सेवा छुट
अबदेखि प्रसौनी गाउँपालिकाका बासिन्दाहरूले निम्न सेवाहरूमा ७% देखि २५% सम्म छुट प्राप्त गर्नेछन्:OPD सेवा,शल्यक्रिया (सर्जरी),बेड चार्ज,प्रयोगशाला (प्याथोलोजी) परीक्षण,एक्स–रे,CT स्क्यान,MRI,फार्मेसी सेवा साथै, हरेक ३–३ महिनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ।
शिविर सञ्चालनका लागि आवश्यक स्थान र भौतिक पूर्वाधारको व्यवस्था प्रसौनी गाउँपालिकाले गर्नेछ भने, शिविरमा खटिने चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीहरूको खाजा, खाना र सुरक्षा व्यवस्थाको जिम्मेवारी पनि पालिकाकै हुनेछ।
प्रसौनी गाउँपालिका तर्फबाट नगर प्रमुख विनोद प्रसाद जयसवाल,7 प्रमुख प्रशासनिक अधिकृत श्री श्याम किशोर प्रसाद र स्वास्थ्य शाखा प्रमुखको उपस्थिति रहेको थियो। नेशनल मेडिकल कलेज तर्फबाट प्रबन्ध निर्देशक श्री सहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ, प्रमुख सूचना अधिकारी इन्जिनियर प्रदीप चौधरी र मार्केटिङ प्रबन्धक जितेश चन्द्र दास कार्यक्रममा सहभागी भएका थिए।
सम्झौतापछि मन्तव्य दिँदै नगर प्रमुख विनोद प्रसाद जयसवालले भने, “यो सहकार्य प्रसौनी गाउँपालिकाका जनताहरूको स्वास्थ्य सेवा पहुँचमा गुणात्मक सुधार ल्याउने दिशामा एक महत्वपूर्ण र ऐतिहासिक कदम हो। हामी भविष्यमा यस्ता सहकार्यलाई अझ सुदृढ गर्दै लैजानेछौं।”
उक्त समझदारीपत्र एक वर्षको लागि लागू हुने छ र आवश्यक परेमा दुवै पक्षको आपसी सहमतिमा परिमार्जन, थपघट वा नविकरण गर्न सकिने प्रावधानसमेत यसमा उल्लेख गरिएको छ। नगर प्रमुख जयसवालको नेतृत्वमा सम्पन्न यो सहकार्यले प्रसौनी गाउँपालिकालाई स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र जनहिततर्फ उन्मुख गर्दै विकासको नयाँ बाटो खोल्ने विश्वास गरिएको छ।









