बहुअरीस्थित वीरगन्ज हेल्थ केयर (BHC) अस्पतालमा जटिल अवस्थामा रहेको गर्भको शीशु र आमाको सकुशल प्रसूती गराउन सफल स्वास्थ्यकर्मीलाई अभिभावकद्वारा सम्मान गरिएको छ।
वीरगन्ज महानगरपालिका–६ का राकेश मिश्राले अस्पतालकी प्रशासन प्रमुख तथा स्वास्थ्यकर्मी भूमिका अधिकारीलाई मायाको चिन्ह प्रदान गर्दै सम्मान गरेका हुन्। उनकी पत्नी अन्नु मिश्राको गर्भभित्र रहेको शीशुको स्वास्थ्य अवस्था निकै जटिल भइसकेको अवस्थामा पनि भूमिका अधिकारी, डा. रमोला र अन्य स्वास्थ्यकर्मीको टोलीले सफल शल्यक्रिया मार्फत शीशु र आमाको ज्यान जोगाएका थिए।
भूमिका अधिकारीका अनुसार, प्रसूती मिति आउन अझै १० दिन बाँकी रहँदा अन्नुलाई चेकजाँचको लागि गत आइतबार अस्पताल ल्याइएको थियो। जाँचका क्रममा गर्भभित्रको शीशु कम चल्ने देखिएपछि तत्काल भर्ना गरिएको थियो। शीशुको अवस्था जोखिमपूर्ण देखिएपछि सोही रात डा. साह र अधिकारीको टोलीले आपतकालीन शल्यक्रियाको निर्णय गरेको थियो। शल्यक्रिया कठिन भए पनि टोलीको अथक प्रयासले प्रसूती सफल भएको अधिकारीले जानकारी दिइन्।
प्रसूतीपछिका तीन दिनसम्म आमा र शीशुलाई निगरानीमा राखेर उपचार गरिएपछि बिहीबार घर पठाइएको हो। अभिभावक मिश्राले अस्पतालप्रति आभार व्यक्त गर्दै यस्तो संकटमा जीवन रक्षा गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको भूमिकालाई अविस्मरणीय बताए।









