२०८२ चैत्र ४ गते बुधबार

पर्सामा नेपालमै पहिलो पटक ड्रोनमार्फत भूमि नापजाँच सम्पन्न

 

पर्सा जिल्लामा भूमि समस्या समाधानका लागि आधुनिक प्रविधिको प्रयोग गर्दै नेपालकै इतिहासमा पहिलो पटक ड्रोनमार्फत भूमि नापजाँच कार्य सम्पन्न गरिएको छ। पटेर्वासुगौली गाउँपालिका–२, रङ्गपुर टाडीमा आज सम्पन्न गरिएको यस नापजाँचलाई भूमि समस्या समाधान आयोगको नापी टोलीले सम्पन्न गरेको हो।

वरिष्ठ नापी अधिकृत तथा अनुगमन प्रमुख राजकुमार विश्वकर्माको नेतृत्वमा गरिएको उक्त कार्यमा अत्याधुनिक ड्रोन प्रविधि प्रयोग गरिएको हो। आयोगका अध्यक्ष तबरेज अहमदका अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या छिटो र व्यवस्थित ढंगले समाधान गर्न प्रविधि प्रयोगको पहल गरिएको हो।

अध्यक्ष अहमदले भने “ड्रोनले १० मिनेटमै सक्ने काम, आयोगको पाँच जनाको जनशक्तिले गर्दा एक महिना लाग्थ्यो। यसले समय, श्रम र खर्च तीनैको ठूलो बचत हुनेछ।”

आयोगले यसलाई नेपालमै पहिलो सफल परीक्षणको रूपमा लिएको छ। ड्रोनमार्फत नापजाँच गर्दा जमिनको यथार्थ नक्साङ्कन, मापनको उच्च शुद्धता, र द्रुत नतिजा प्राप्त हुने भएकाले भविष्यमा यस प्रविधिलाई अन्य जिल्लामा पनि विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ।

नापजाँचको क्रममा वडा अध्यक्ष विजय गैरे, आयोगका प्रशासन प्रमुख राजेन्द्र खड्का, नापी टोलीका प्रमुख, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीयवासीले आधुनिक प्रविधि प्रयोग गरेर गरिएको यस कार्यलाई स्वागत गर्दै यसले लामो समयदेखि थाती रहेका भूमि समस्या समाधानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM