२०८३ जेष्ठ २ गते शनिबार

सडक दुर्घटना न्यूनीकरणका लागि मकालु चौक देखि खानेपानी कार्यालयसम्म ‘नो पार्किङ’ बोर्ड स्थापना

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका–४ स्थित मकालु चौकदेखि खानेपानी कार्यालयसम्मको सडक खण्डमा ‘नो पार्किङ’ बोर्ड स्थापना गरिएको छ।

उक्त सडक खण्ड साँघुरो हुने र चार पाङ्ग्रे सवारी साधनहरूले सडकमा पार्किङ गर्दा दुर्घटना हुने सम्भावना बढेको कारण यो पहल गरिएको आयोजकहरूले बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजका ट्राफिक प्रमुख लोकराज भट्ट तथा विशिष्ट अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईंको उपस्थितिमा ‘नो पार्किङ’ बोर्ड सडकको किनारमा जडान गरिएको हो। यस अवसरमा स्थानीयवासी र सवारी चालकलाई सडकमा अनावश्यक पार्किङ नगर्न आग्रह गरिएको थियो।

ट्राफिक प्रमुख भट्टले भोलिदेखि अनधिकृत पार्किङ गर्ने सवारीसाधनमाथि कडा कानूनी कारबाही गरिने चेतावनी दिएका छन्। साथै, यस अभियानबाट सडक दुर्घटनाको जोखिम घट्ने र यातायात सहज हुने अपेक्षा व्यक्त गरे।

कार्यक्रम ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा ट्राफिक प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारी, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM