वीरगञ्जको महावीर स्थान क्षेत्रबाट अन्दाजी ४५ वर्षीय एक पुरुषलाई शनिबार सुरक्षित उद्धार गरिएको छ। खुट्टामा रड लागेको र बोली स्पष्ट नआउने अवस्थामा फेला परेका ती पुरुषलाई प्रहरीको समन्वयमा मानवसेवा आश्रम वीरगञ्जले उद्धार गरेको हो।
उद्धारकार्यमा वीरगञ्ज वडा प्रहरी कार्यालय बिर्तका प्रहरी प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको महत्वपूर्ण सहयोग रहेको आश्रमकी प्रमुख मुना पुलामी मगरले बताइन्। उनले महान् कार्यमा प्रदान गरिएको अमूल्य सहयोगका लागि चौलागाईंप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै सम्मान व्यक्त गरिन्।
मगरका अनुसार, मानवता तब मात्र पूर्ण हुन्छ जब हामी एकअर्काको पीडामा हात अघि सार्छौं। उद्धार कार्यमा उनले आफ्नो सहयोगी टोलीसँगै प्रत्यक्ष रुपमा सहभागिता जनाएकी थिइन्।
उद्धारको सम्पूर्ण जानकारी मानवसेवा आश्रम वीरगञ्जका संस्थापक सदस्य देवेश गुप्ताले दिएका थिए। आश्रमका अनुसार, उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्थाको प्राथमिक उपचार गरी सुरक्षित स्थानमा राखिएको छ।









