२०८२ फाल्गुन २९ गते शुक्रबार

कलैया उपमहानगरपालिकाबाट एचआईभी संक्रमितहरूका लागि स्याहार केन्द्र स्थापना गर्ने घोषणा

 

कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साहले जिल्लामा रहेका एचआईभी (एड्स) संक्रमितहरूका लागि आवश्यक उपचार र स्याहार प्रदान गर्न क्राइसिस रिस्पोन्स सेन्टर (सीआरसी) स्थापना गर्ने पहल अघि बढाउने बताएका छन्।

महिला कानुन र विकास मंचले सोमबार कलैयामा आयोजना गरेको ‘एचआईभी संक्रमितहरुको लागि सामाजिक सुरक्षा सम्बन्धी कार्यविधि २०८२’ विषयक छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख साहले, “विभिन्न कारणले प्राणघातक रोग एचआईभी संक्रमितहरूको उपचार र उचित स्याहार नहुँदा हरेक वर्ष धेरै ज्यान जाने गरेको छ। यसलाई रोक्न र संक्रमितहरूको जीवन सुरक्षित गर्न स्थानीय सरकारको पहल अनिवार्य छ,” भने।

साहले भने, “कलैया उपमहानगरपालिकाले यो क्षेत्रमा आवश्यक सहयोग गर्दै छिट्टै एचआईभी संक्रमितहरूको लागि स्याहार केन्द्र स्थापना गर्नेछ। यसले संक्रमितहरूलाई नियमित उपचार, राहत र मनोवैज्ञानिक सहयोग प्रदान गर्नेछ।”

छलफल कार्यक्रममा आयोजक संस्थाका फिल्ड सुपरभाइजर हुसेन अंसारीले बारा जिल्लामा वार्षिक करिब २० देखि ४० जनासम्म एचआईभी संक्रमितहरूको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गर्दै, “मृत्यु दर घटाउन सबै सरोकारवालाको सक्रियता आवश्यक छ” भने।

कार्यक्रमका नेशनल कोअर्डिनेटर सजना अधिकारीले दातृ निकाय तथा स्थानीय तहको सहकार्यमा एड्स पिडितहरूको उपचार, राहत तथा स्याहारका लागि परियोजना सञ्चालन भइरहेको जानकारी दिइन्।

कार्यक्रममा कलैया उपमहानगरपालिका उपप्रमुख रौशन प्रविन, महिला कानुन र विकास मंचकी प्रोजेक्ट अफिसर रिता गुरुङ्ग लगायत सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो।

सोही कार्यक्रममा नगर प्रमुख बिनोद साहलाई संरक्षक र उपप्रमुख रौशन प्रविनलाई संयोजक बनाई ११ सदस्यीय समिति गठन गरिएको छ, जसले आगामी दिनमा एचआईभी संक्रमितहरूको सामाजिक सुरक्षा र स्याहार सम्बन्धी कार्यहरू समन्वय गर्नेछ।

नगर प्रमुख साहले समस्त सरोकारवालालाई सशक्त सहकार्य गर्न आग्रह गर्दै भने, “यो संकटमय अवस्थामा हामीले संक्रमितहरूलाई उचित स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र मनोबल उच्च राख्नुपर्ने जिम्मेवारी छ। यसका लागि हामी निरन्तर प्रयासरत हुनेछौं।”

यो पहलले एचआईभी संक्रमितहरूको जीवनस्तरमा सुधार ल्याउने र सामाजिक समावेशीतामा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM