वीरगन्ज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा रामसुन्दर आर्य र क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा फैयाज मियाँ चयन भएका छन्।
बुधबार वीरगन्ज–९ स्थित गेट वे होटलमा सम्पन्न भेलाले आर्य र मियाँलाई सभापतिमा चयन गरेको हो। भेलाले क्षेत्र नम्बर १ मा आर्यको सभापतित्वमा ७ सदस्यीय समिति गठन गरेको छ, जसको उपसभापतिमा पम्फा गिरी र श्यामबाबु गुप्ता, सचिवमा कासिम मियाँ तथा सदस्यमा रामहरी उपाध्याय, बबिता कुमारी धोबी र नन्दन बानियाँ रहेका छन्।
त्यसैगरी, क्षेत्र नम्बर २ मा मियाँको सभापतित्वमा बनेको समितिमा उपसभापतिमा परितोश द्विबेदी र शान्ति ढकाल, सचिवमा किशन साह तथा सदस्यमा विजय यादव, अमित शाह र प्रमोद कुमार उपाध्याय रहेका छन्।
कार्यक्रममा बोल्दै रास्वपा पर्साका सभापति हरि पन्तले जिल्लाका शिक्षित र बौद्धिक समुदाय रास्वपामा जोडिने क्रम तीव्र रहेको बताए। उनले बाँकी क्षेत्रहरूमा पनि चाँडै क्षेत्रीय समिति गठन हुने जानकारी दिए। भेलामा केन्द्रीय सदस्य नन्दन यादव, नेतृ तुल्सा पौडेल, प्रदेश सदस्य शम्भु कँडेल, मधेस प्रदेश संगठन उपप्रमुख प्रमोद रायमाझी, जिल्ला सदस्य सुदीश प्रजापति लगायतको उपस्थिति थियो।
























