वीरगन्ज युवा समाजले श्रीकृष्ण जन्माष्टमी तथा भिमसेन जात्राको अवसरमा बिर्तामाइ मन्दिर संरक्षण समिती र सामुदायिक प्रहरी बिर्ताको सहयोगमा वीरगन्ज–४ स्थित बिर्तामाइ र कृष्ण मन्दिर परिसरको सरसफाइ सम्पन्न गरेको छ।
कार्यक्रम वीरगन्ज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथिमा वडाअध्यक्ष तथा बिर्तामाइ मन्दिर समितिका अध्यक्ष जगत साह कानु थिए। कार्यक्रममा वडासदस्य जुलुम खडकी, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, लायन्स क्लबका समाजसेवी उमेश शर्मा र सुनिल श्रेष्ठ, बिर्ता युवा क्लबका अध्यक्ष राज गुप्ता, सामुदायिक प्रहरी बिर्ताका अध्यक्ष माजिद मिया, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
सो अवसरमा वडाअध्यक्ष कानुले वीरगन्ज युवा समाजले विगत १३ वर्षदेखि समाजसेवामा सक्रिय रहँदै आपतकालीन अवस्थामा अग्रस्थानमा रहेर समुदायसँग हातेमालो गर्दै आएको बताउँदै संस्थालाई धन्यवाद ज्ञापन गरे।
अध्यक्ष थापाले “परिवर्तनको लागि वीरगन्ज युवा समाज” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा असहाय, विपन्न तथा समाजको हितमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।









