२०८२ चैत्र ७ गते शनिबार

उपकार सेवा नेपालद्वारा पूर्ण अपाङ्गता भएका असहाय व्यक्तिलाई ह्विलचेयर सहयोग

 

समाजसेवा क्षेत्रमा निरन्तर सक्रिय उपकार सेवा नेपालले शुक्रबार वीरगञ्ज महानगरपालिका–१ छपकैया निवासी एक जना पूर्ण शारीरिक अपाङ्गता भएका असहाय व्यक्तिलाई ह्विलचेयर हस्तान्तरण गरी सहयोग गरेको छ।

संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीको नेतृत्वमा आयोजित कार्यक्रममा उक्त व्यक्तिलाई औपचारिक रूपमा ह्विलचेयर प्रदान गरिएको हो। अध्यक्ष सरावगीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापनमा सघाउ पुर्‍याउने उद्देश्यले यो सहयोग गरिएको बताइन्।

कार्यक्रममा उपकार सेवा नेपालका सदस्य सुमन बगेडिया र अंकुर शर्मा, समाजसेवी प्रकाश थारु, सशस्त्र प्रहरी बलका हवल्दार सुरेन्द्र बहादुर सिंह, स्थानीय समाजसेवी नन्द किशोर कुस्वाहा लगायत स्थानीय भद्रभलाद्मीहरूको उपस्थितिमा ह्विलचेयर हस्तान्तरण सम्पन्न भएको थियो।

संस्थाले यसअघि पनि विभिन्न दुर्गम गाउँ–ठाउँसम्म पुगेर आर्थिक रूपले विपन्न, असहाय तथा निसहाय व्यक्तिहरूलाई खाद्यान्न, वस्त्र, औषधि, उपचार खर्च तथा आवश्यक सामग्रीहरू प्रदान गर्दै आएको छ। अध्यक्ष सरावगीका अनुसार, भविष्यमा पनि संस्थाले यस्ता सहयोगात्मक गतिविधिहरू निरन्तर जारी राख्नेछ।

उपस्थित स्थानीय बासिन्दाहरूले उपकार सेवा नेपालको यो कदमलाई प्रशंसनीय भन्दै, समाजका असहाय र अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न यस्ता कार्यहरू निरन्तर हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM