२०८२ चैत्र ७ गते शनिबार

बिरगंजमा लाखे नाच प्रदर्शन, सांस्कृतिक धरोहर संरक्षणको संदेश

 

नेवा: देय दबु वीरगन्ज महानगर कमिटीले शनिबार ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको लाखे नाच भव्य रूपमा आयोजना गरेको छ। परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम वीरगन्जस्थित गणेशमान चौकबाट सुरु भई बिर्ता मन्दिरसम्म जुलुसका साथ सम्पन्न गरिएको हो।

सांस्कृतिक झाँकीमा नेवारी समुदायका युवा, किशोर तथा बालबालिकाको उत्साहपूर्ण सहभागिता रहेको थियो भने नगरवासीहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले परम्परागत बाजागाजा, ढोल, भाका तथा नेवारी पोशाकसहित लाखेको रूप धारण गरी नृत्य प्रस्तुत गरेका थिए। यसले सम्पूर्ण नगरवासीलाई आकर्षित मात्र गरेन, नगरमा एक विशेष उत्सवमय वातावरण पनि सिर्जना गर्‍यो।

आयोजक नेवा: देय दबु वीरगन्ज महानगर कमिटी का पदाधिकारीहरूले यस प्रकारका कार्यक्रमहरूले समुदायबीच एकता, भाइचारा र सांस्कृतिक चेतना जागृत गर्ने बताए। उनीहरूले लाखे नाचलाई असत्यमाथि सत्य, अन्यायमाथि न्याय र असुरमाथि सुरको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै आगामी पुस्तामा परम्परा हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए।

बिरगन्ज महानगरपालिकाले पनि यस सांस्कृतिक धरोहरलाई संरक्षण र प्रवर्द्धन गर्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै नगरलाई बहुसांस्कृतिक सहअस्तित्वको केन्द्र बनाउन यस्ता कार्यक्रम निरन्तर गरिने जनाएको छ।

यस अवसरमा विभिन्न संघसंस्था, सामाजिक अगुवा तथा स्थानीय वासीहरूले उपस्थित भई कार्यक्रमलाई थप भव्य र प्रभावशाली बनाएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM