नेपाल जनता पार्टी (नेजपा)का केन्द्रीय वरिष्ठ नेता संतोष पटेलले जनकपुरधाममा संचारकर्मीहरूसँगको भेटमा सनातन हिन्दू राष्ट्र नेपाल स्थापना नै देशको साझा पहिचान र राष्ट्रिय एकताको आधार भएको बताएका छन्।
उनले भने, “धर्म–निरपेक्षताको आडमा केवल हिन्दू समाजलाई लक्षित गर्ने, गौ हत्या, धर्म परिवर्तन, लभ जिहाद, मठ–मन्दिरमा आक्रमण, हिन्दू संघ–संस्थाप्रति राज्यको पूर्वाग्रही व्यवहार देखिने, धार्मिक कार्यमा तीन तह सरकारको सौतेलो व्यवहार जस्ता उदाहरणले अब हिन्दू राष्ट्रको आवश्यकता झन् तीव्र बनाएको छ।”
पटेलका अनुसार अब आम नेपालीले स्पष्ट निर्णय लिनुपर्ने बेला आएको छ — “धर्म बेच्नेहरूको पछाडि लाग्ने कि धर्म रक्षा गर्नेहरूको साथ दिने।”
एक फरक प्रसंगमा नेता पटेलले २०८४ सालको निर्वाचनमा संघ, प्रदेश र स्थानीय सबै तहमा नेजपाको सशक्त उपस्थिति रहने दाबी गरे। साथै उनले मधेश प्रदेश सरकारको नेतृत्व समेत नेजपाले गर्ने विश्वास व्यक्त गरे।जनकपुरधाम र जलेश्वरमा आयोजित भेंटघाट कार्यक्रममा उनले स्थानीय कार्यकर्तासँग भावी कार्यक्रमबारे छलफल गरेका थिए।
भेटघाट कार्यक्रममा नेपाल जनता पार्टीका केन्द्रीय सदस्य राम उजैन राय यादव, बंदना पाण्डेय, मधेश प्रदेश अध्यक्ष शत्रुध्न साह, प्रवक्ता संतोष साह, युवा नेता राम सिंह, महोत्तरी जिल्ला अध्यक्ष विजय साह, उपाध्यक्ष बसन्त सिंह, वरिष्ठ सल्लाहकार विनय मिश्र लगायत हिन्दूवादी संघ–संस्थाका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति थियो।
कार्यक्रमपछि वरिष्ठ नेता पटेलले जनकपुरधामस्थित श्री जानकी मन्दिर, श्री राजदेवी भगवती मन्दिर, श्री राम मन्दिर, श्री हनुमान मन्दिर तथा जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा पूजापाठ गर्दै नेपाली जनताको सुख, शान्ति, समृद्धि तथा सनातन हिन्दू राष्ट्र नेपाल स्थापनाका लागि प्रार्थना गरेका थिए।









