जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारीले सीमा नाकामा अवैध गतिविधि रोकथामका लागि सिसिटिभी जडान, चेकपोष्ट स्थापना तथा भन्सार निगरानीलाई प्रभावकारी बनाइने बताएका छन्।
सोमबार कलैया उपमहानगरपालिका–१० मा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले आयोजना गरेको सीमा सहजीकरण बैठकमा बोल्दै प्रजिअ अधिकारीले सीमा सुरक्षा संवेदनशील विषय भएकोले सबै निकायले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने धारणा राखे।
बैठकले सडक मर्मत, सरसफाइ, पार्किङ व्यवस्थापन, वृक्षारोपण तथा संदेशमूलक सूचना राख्ने निर्णय पनि गरेको छ। यसबारेमा कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले नगरपालिकाले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै पक्की ब्यारियर र सूचना पाटी निर्माणमा सहयोग गर्ने बताएका छन्।
सशस्त्र प्रहरी बल नेपाल १२ नं गणका गणपति प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीका अनुसार, सिसिटिभी जडान र पक्की ब्यारियर निर्माणमार्फत अवाञ्छित गतिविधि नियन्त्रण गर्ने तयारी भइरहेको छ।
बैठकमा सहभागी स्थानीय रामाअयोध्या प्रसाद गुप्ताले सिमानाका छेउमा रहेका मदिरा पसल सार्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार सीमा क्षेत्रमा रहेका होटल र मदिरा पसलका कारण चोरी, तस्करी र आपराधिक गतिविधि बढ्ने सम्भावना रहेकाले तत्काल नियन्त्रण आवश्यक छ।
यसैगरी बैठकले स्थायी पोस्ट स्थापना, सवारी साधन नियमन, भन्सारको नियमित अनुगमन तथा छड्के निरीक्षणलाई कडाइ गर्ने निर्णय गरेको छ।
बैठक वडाध्यक्ष साबिर मियाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङ, राष्ट्रिय अनुसन्धान उपनिर्देशक सरोज निरौला, सशस्त्र प्रहरी बल बिओपी मटिअर्वाका डिएसपी सुधिर खतिवडा लगायत स्थानीय सरोकारवाला र सञ्चारकर्मीको सहभागिता रहेको थियो।









