२०८२ चैत्र ७ गते शनिबार

शिक्षा विधेयकका विवादास्पद प्रावधानविरुद्ध निजी विद्यालय सङ्गठनद्वारा ज्ञापनपत्र

शिक्षा विधेयकमा निजी विद्यालयविरुद्ध रहेका केही प्रावधानहरूको विरोध स्वरूप देशभर जारी आन्दोलन अन्तर्गत प्याब्सन, एन–प्याब्सन र हिसान पर्साले सोमबार पर्साबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद तथा शिक्षासमिति सदस्य माननीय श्रीमती बिना जैसवाललाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा प्याब्सन जिल्ला अध्यक्ष सरोज चौधरी, सचिव अशोक सङ्रौला, वरिष्ठ उपाध्यक्ष सुशिला साह, केन्द्रीय सदस्य छेडुप लामा, वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव,सचीव अमित आलोक लगाएत संयुक्त टोली उपस्थित थियो।

निजी विद्यालय सञ्चालक संघहरूले सरकारद्वारा दर्ता भएको शिक्षा विधेयकमा निजी विद्यालयहरूको अस्तित्व र अधिकार कमजोर हुने खालका प्रावधान राखिएको भन्दै विरोध जनाउँदै आएका छन्। उनीहरूको भनाइमा, सो विधेयक पारित भएमा निजी विद्यालयहरूको दीर्घकालीन भविष्यमा असर पर्नेछ र गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण कमजोर हुनेछ।

ज्ञापनपत्रमार्फत उनीहरूले विधेयकका विवादास्पद प्रावधानहरू पुनरावलोकन गर्नुपर्ने, निजी विद्यालयलाई शिक्षामा साझेदारको रूपमा मान्यता दिनुपर्ने र नीति निर्माणमा निजी क्षेत्रको सुझावलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।

सांसद बिना जैसवालले ज्ञापनपत्र ग्रहण गर्दै सम्बद्ध मागहरूबारे शिक्षासमितिमा छलफल हुने र आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएकी छिन्।

यसअघि पनि प्याब्सन, एन–प्याब्सन, हिसान लगायतका संस्थाहरूले शिक्षा विधेयक संशोधनको माग गर्दै देशभर विभिन्न कार्यक्रम र आन्दोलनका कार्यक्रम गर्दै आएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM