रक्सौल मानव तस्करी नियन्त्रण इकाई, ४७ औं वाहिनी एसएसबीको टोलीले मैत्री पुल नजिक भारततर्फ आउँदै गरेका चार जना व्यक्तिहरूसँगै एक नाबालिग किशोरीलाई संदेहको आधारमा नियन्त्रणमा लिएको छ।
मानव तस्करी नियन्त्रण इकाईका प्रभारी विकास कुमारद्वारा सोधपुछ गर्दा र प्रयास जुभेनाइल एड सेन्टर पूर्वी चम्पारण तथा स्वच्छ रक्सौल संस्था द्वारा किशोरीको काउन्सलिङ गरिएको क्रममा खुलासा भयो कि पक्राउ परेका चारै जना पटना, बिहारका हुन् भने किशोरी सीतामढीकी हुन्।
सोसल मिडिया मार्फत मोहम्मद शाहिद अन्सारीले नाबालिगलाई प्रेमजालमा पार्दै विवाह गर्ने प्रलोभन देखाएका थिए। आफ्ना साथीहरू मोहम्मद साहिल अन्सारी, गोलु अन्सारी र सुभान अन्सारीसँग मिलेर किशोरीलाई काठमाडौं लैजाने योजना बनाएका थिए। उनीहरूले विवाह गर्ने आश्वासन दिँदै किशोरीलाई बहलाउँदै नेपाल ल्याए र करिब ८ दिनसम्म काठमाडौंस्थित भाडाको घरमा किशोरीसहित बसे। तर शाहिद अन्सारीले विवाह गर्ने वाचा पूरा नगरी किशोरीलाई बारम्बार भ्रममा पारिरहे।
अन्ततः उनीहरूले किशोरीलाई भारत लैजाने र पटना पुर्याउने योजना बनाएका बेला मानव तस्करी नियन्त्रण इकाईले कारबाही गरेको हो। अनुसन्धानका क्रममा सीतामढीको बेलसण्ड थानामा किशोरीको अभिभावकले अपहरण मुद्दा दर्ता गराइसकेको (प्राथमिकी नं. १५१/२५, मिति २०८२/०४/२२) पत्ता लाग्यो।
यस उद्धार अपरेसनमा मानव तस्करी नियन्त्रण इकाई ४७ औं वाहिनीका इन्स्पेक्टर विकास कुमार, हवलदार अरविन्द द्विवेदी, महिला सिपाहीहरू नीतु कुमारी, राजन कुमारी, कविता कुमारी र झिल्ली साहू, प्रयास जुभेनाइल एड सेन्टरकी आरती कुमारी, राज गुप्ता तथा स्वच्छ रक्सौल संस्थाका रणजीत सिंह र साबरा खातुन सक्रिय सहभागी रहेका थिए।









