वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंगको निर्देशन अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरुको Biometric Verification (VERSP-MIS) प्रणालीमार्फत नविकरणको घरदैलो सेवा वडा नं. ५ मा सफलतापूर्वक सम्पन्न भएको छ।
वडा कार्यालयमा उपस्थित हुन असमर्थ रहेका वृद्ध–वृद्धा, अपाङ्ग र अस्वस्थ सेवाग्राहीहरुलाई लक्षित गर्दै घरदैलो नविकरण कार्यक्रमको आयोजना गरिएको थियो। यस अभियानमा वडा नं. ५ का अध्यक्ष प्रदिप चौरसियाको नेतृत्वमा एवं सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरु,महानगरपालिकाका पंजिकरण शाखा प्रमुख बुद्धि माया थापा, वडा सचिव अरुण बस्नेत, तथा कम्प्युटर अपरेटर करिना श्रेष्ठ, आशिष कुश्वाहा, सन्जु दहाल, मनोज साह, मन्जु परियार र रुस्तम अली सक्रिय सहभागी रहेका थिए।
कार्यक्रम अन्तर्गत सेवाग्राहीहरुको घरमै पुगेर बायोमेट्रिक विवरण संकलन र नविकरण प्रक्रिया सम्पन्न गरियो। यस पहलले सेवाग्राहीहरुलाई कार्यालय धाउनुपर्ने बाध्यता हटाउने, घरमै सेवा उपलब्ध गराउने र सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दा र सेवाग्राही परिवारजनले घरदैलो नविकरण अभियानको प्रशंसा गर्दै यसलाई सकारात्मक उदाहरणको रूपमा लिनुपर्ने बताएका छन्।









