नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आज मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यसँग आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता (Performance Agreement) सम्पन्न गर्नुभयो।
सम्झौताअनुसार मन्त्रालयले चालु आर्थिक वर्षभित्र तोकिएका कार्यक्रम तथा योजनाहरूलाई समय, लागत र गुणस्तरअनुसार कार्यान्वयन गर्ने लक्ष्य लिएको छ। यो सम्झौता सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्य, र दिगो विकासका लक्ष्य (SDGs) सँग मेल खाने गरी गरिएको हो।
मन्त्री यादवले तीनै तहका सरकारहरूको क्षमता अभिवृद्धि गर्दै शहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवा विस्तार गर्ने, साथै फोहोर पानीको सङ्कलन, प्रशोधन तथा व्यवस्थापनमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
“हाम्रो दीर्घकालीन लक्ष्य विसं २१०० सम्म सबै नेपाली नागरिकलाई सुरक्षित पानी र सरसफाइ सेवा उपलब्ध गराउनु हो।”
सम्झौताको इमानदारीपूर्वक कार्यान्वयन गर्न सम्बन्धित पदाधिकारीहरूलाई मन्त्री यादवले आवश्यक निर्देशन समेत दिनुभएको छ।
यस अवसरमा मन्त्रालयका उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।









